– नरेश केसी
भैरहवा (रुपन्देही), ९ मंसिर । अबको केही वर्षमा देशका हरेक कुनाका जनताले विकासको नमूना हेर्न रुपन्देही आउने गरी जिल्लाको विकास गरिने बामगठन्धनका नेताहरुले उद्घोष गरेका छन् । रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा क्रियाशील बाम गठबन्धनका साझा उम्मेदवार तथा नेताहरुले रुपन्देहीलाई विकासको रोलमोडल बनाउने संकल्प गरिएको भन्दै एक पटक अवसर दिन मतदातासमक्ष आग्रह समेत गरेका छन् ।
रुपन्देहीको सेमलारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले प्रदेशको सबल राजधानीका रुपमा रुपन्देहीलाई विकास गरिने प्रतिबद्धता पनि दोहो-याए । सभालाई सम्बोधन गर्दै एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री एवम् रुपन्देही क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेदवार विष्णुप्रसाद पौडेलले रुपन्देहीलाई विकासको रोल मोडल बनाउने गरी दीर्घकालिन योजनाका काम सुरु गरिएको बताए । उनले यो चुनावमार्फत कम्तीमा पाँच वर्षको स्थायी सरकार बनाउने र त्यसैका माध्यमबाट समृद्धिका संकल्पहरु पूरा गरिने भन्दै अवसर दिन आग्रह गरे ।
‘अहिलेको चुनाबले मुलुकको भविष्य निर्धारण गर्दै समृद्धिको बाटोसमेत तय गर्ने भएकाले सामान्य रुपमा नलिनुहोला, तपाइँको एक मतले भविष्य निर्धारण गर्ने काममा प्रभाव पार्न सक्छ’ नेता पौडेलले भने, ‘आस्था जुनसुकै पार्टीमा राख्ने भएपनि एक पटक विकास गर्नेलाई मतदान गर्नुहोला ।’
सभामा एमालेका अर्का उपमहासचिब तथा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम भुसालले देशलाइ सहि नीति र सहि कार्यदिशासहितको बाम गठबन्धनको नेतृत्वमा लुम्बिनीलाइ केन्द्रमा राखेर विकासको खाका कोरिने बताए । उनले संभावना नै संभावना भएको रुपन्देही जिल्लालाई देशकै विकासको नमुना बनाउने गरी आफुहरुले तयारी थालेको पनि जनाए ।
सभामा माओवादी केन्द्रका बामदेव क्षेत्री, हकिकुल्ला खाँ, रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्यका उम्मेदवार एमाले नेता तुलसीप्रसाद चौधरी, प्रदेशसभा सदस्यका उम्मेदवार अनुप बराललगायतले आफुहरु एकताबद्ध भएर रुपन्देहीको विकासमा केन्द्रित हुने बताएका थिए । हिजो छुट्टाछुट्टै रहेका पार्टीहरु अहिले एउटै ठाउँमा रहेको र विकासका लागि सामूहिक संकल्प गरेको भन्दै नेताहरुले एकपटक मौका दिन मतदातासमक्ष अपिल गरेका थिए ।












प्रतिक्रिया