– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता नभएका व्यक्ति जतिपटक पटक प्रधानमन्त्री भए पनि देशको विकास गर्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले नेपाली काग्रेसका सभापति देउवाले आफु चार चार पटक प्रधानमन्त्री भएको भन्दै भोट माग्छन् तर देश र जनताका लागी सिन्का समेत भाँच्न नसकेको बताएका छन् ।
देश विकास गर्नका लागी पटक पटक प्रधानमन्त्री होइन एक पटक भए पनि हुन्छ तर ‘कोही कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन त्यो पनि ज्योतिषीको भरमा परेर’, देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए ? एकपल्ट प्रधानमन्त्री हुने हामीले जनताको मनमा छाप छाड्ने गरी काम गरेका छौँ ।’
ज्योतिषीको भर गर्नेहरुलाई जनता नै नचाहिने बताउँदै अध्यक्ष ओली आफूहरुका उम्मेदवारलाई भने जनताकै भोट चाहिएको जिकिर गरे ।
‘कसै कसैलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बनाइसके । उनलाई जनताको आवश्यकता परेन, ज्योतिषीले भनिदिए पुग्छ’, ओलीले भने, ‘तर हाम्रा उम्मेदवार खगराज भट्टलाई जनताले जिताउँछन् । ज्योतिषीलाई दिने पैसा खगराजले यहाँको विकासका लागि लिएर आउँछन् ।’
अध्यक्ष ओलीले देउवाले देश नै बेच्न खोजेको आरोप लगाउँदै उनलाई भोट नहाल्न पनि डडेलधुराबासीसँग अपिल गरे । ‘देश बेच्नेहरुलाई भोट नहाल्नुस, तराई–पहाड बेच्न खोज्नेहरु फेरि यहाँ आएका छन्’, उनले भने, ‘खगराजजीले यहाँको विकासका लागि पसिना बगाउँछन्, यो पटक जिताएर पठाउनुस् ।’
चुनावी आम सभाबाटै केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निष्पक्ष भएर काम गर्न समेत आग्रह गर्नु भएको छ । अति काम चलाउ चार दिनको काम चलाउ सरकारको पछि लागेर कानुनी मर्यादालाई समेत भुलेर नलाग्न सुरक्षा निकायलाई सुझाव दिनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्नका लागी गाउबाट आएका कार्यकर्ताहरु राति सम्म पनि शान्त भएर बसेका थिए ।















प्रतिक्रिया