१ कार्तिक २०८३, आइतबार

वासिङ्टन डिसीमा दोश्रो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । गत मे महिनामा सफलता पूर्वक सम्पन्न गरेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दोश्रो महोत्सव गर्ने घोषणा गरेको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैर नाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने घोषणा गरेको हो ।

साथै वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको समेत जानकारी गराएको छ संस्थाले जनाएको छ । उक्त चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, सजीवता (एनिमेशन)का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने जानकारी आयोजकले दिएका छन् । यसको साथै नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्ने संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता र निर्देशक तथा कलाकारसँग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना गर्ने तय गरिने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदनमा परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिनेछ ।

यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ । चलचित्रको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ । अथवा फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको आधिकारिक वेभसाइट www.nafilmsociety.org मा उपलब्ध हुने समेत जानकारी गराएको छ ।

गत मे महिनामा सम्पन्न महोत्सवमा कथानक तर्फ राजन कठेतद्वारा निर्देशित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्ट्री तर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, लघु चलचित्र तर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ उत्कृष्ट चलचित्रहरुमा परेका थिए ।