२२ कार्तिक २०८३, आइतबार

नेपालगञ्जलाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा
बाँके, मंसिर ७ । बाम गठबन्धनका उम्मेदवारहरुले नेपालगञ्जलाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता गरेका छन् । संयुक्त निर्वाचन परिचालन कमिटी उद्योग व्यवसाय संगठनले नेपालगञ्जमा आयोजना गरेको समृद्ध नेपाल निर्माणका लागि बृहत व्यवसायिक भेला एवम् अन्तरक्रियामा बाम गठबन्धनका उम्मेदवार, नेपालगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरुले नेपालगञ्जलाई आर्थिक राजधानीको रुपमा अघि बढाउनु पर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीको हब बनाएर नेपालगञ्जलाई आर्थिक विकासको राजधानी बनाउन सकिने सम्बद्धहरुले बताएका छन् । एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक स्थायीत्व र स्थायी सरकारले देशको विकास गर्न सक्ने बताए । ‘हाम्रो देशमा भएका ठूल्ठूला आन्दोलनले व्यवस्था फेरे पनि अवस्था फेर्न सकेन’ पोखरेलले भने, ‘अब स्थायी सरकार बनाएर अवस्था फेर्नुपर्छ ।’ उनले अब देशको विकासका लागि जागीर होइन, उद्यमशील र आर्थिक क्रियाकलापकै बढोत्तरी गर्नुपर्ने बताए ।

बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेश सभा (क)का उम्मेदवार कामता खटिक र प्रदेश सभा (ख)का उम्मेदवार विजयकुमार गुप्ताले पूर्वाधारको विकासमा अगाडि रहेको नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटकीय, शिक्षा र स्वास्थ्यको हब बनाउदै उद्योग धन्दालाई अगाडि बढाई रोजगारी सिर्जना गरी आर्थिक राजधानी बनाउन सकिने बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्वअध्यक्षहरु दामोदर आचार्य, सतिशकुमार अग्रवाल, प्रतिष्ठित व्यापारी प्रदीप छाछेड, भाष्कर काफ्लेले नेपालगञ्ज विश्वविद्यालय, आइटी कलेज, औद्योगिक क्षेत्र बिस्तार, सुख्खा बन्दरगाह, बहुउद्देश्यीय सभागृहहरु बनाएर नेपालगञ्जको विकासलाई अगाडि बढाउन सकिने बताए । यी सबै कामहरु गर्नका लागि स्थायी सरकारको आवश्यकता पर्नेमा सबैको जोड थियो ।