पोखरा (कास्की), ६ मंसिर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ र प्रदेश सभा क्षेत्र नम्बर २ (क) र (ख)का उम्मेदवारले बुधबार साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा पोखरालाई विकसित, समुन्नत र आर्थिक समृद्धिको शहर, राष्ट्रिय स्वाभिमानलाई उच्च राख्न, राजनीतिक स्थिरता र लोक कल्याणकारी कार्यक्रममार्फत देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पोखरा–जोमसोम–कोरलानाकाबाट चीन जोड्ने, पोखरा भिमाद कावासोतीबाट भौसालोटन हुँदै भारत जोड्ने र ४ नम्बर प्रदेशको राष्ट्रिय लोकमार्ग निर्माण कार्यलाई अगाडि बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । पोखराको खानेपानी आयोजनामा दोब्बरभन्दा बढी क्षमता भएका पाइप लाइन विस्तार र विभिन्न ठाउँमा पानी संकलन ट्याङ्की र शुद्ध फिल्टर राख्ने, महानगरलाई स्वच्छ, सफा एवं सरसफाइयुक्त शहर बनाउन ढल निर्माण र ल्याण्डफिल्ड साइड बनाउने जस्ता कार्य गर्ने बताइएको छ ।
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले साझा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै बाम गठबन्धनका साझा उम्मेदवारको जित सुनिश्चित भएकाले बाम गठबन्धनको सरकारले प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने दृढता व्यक्त गरे । कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार रविन्द्र अधिकारीले स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने बामपन्थीको सरकारले साझा प्रतिबद्धता क्रमगत रुपमा पूरा गर्दै अघि वढ्ने धारणा राखे ।
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट एमालेका रविन्द्र अधिकारी, प्रदेशसभा क्षेत्र नम्बर २ (क)बाट एमालेका कृष्ण थापा र (ख)मा माओवादी केन्द्रबाट राजकाजी गुरुङ उम्मेदवार छन् ।












प्रतिक्रिया