भैरवबहादुर सिंह
प्रतिनीधिसभा सदस्यका उम्मेदवार बझाङ
चुनावको जीत हारको सवालमा भैरबवहादुर सिंहलाई अर्को कृष्णप्रसाद भट्टराई भन्दा हुन्छ । भट्टराईले जस्तै सिंहले धेरै चुनाव लडे तर जितेनन् तर यसपाली उनी एमाले र माओवादी गठवन्धनका कारण जित्ने अवस्थामा छन । ५९ बर्षअघि बझाङमा जन्मेका सिंहले २०४८, २०५१, २०५६ प्रतिनिधिसभा र ०५७ मा राष्ट्रियसभाको चुनाव लडेका थिए । २०५१ को चुनावमा उनले १३१ मतले हार्नु परेको थियो । २०३३ सालदेखि बिद्यार्थी राजनीति गरेका उनको विद्यार्थी राजनीतिको मुख्य थलो महेन्द्ररत्न क्याम्पस ताहाचल हो । दर्जनौ पटक जेल भोगेका सिंहले बिद्यार्थी, युवाको क्षेत्रबाट पनि पार्टीको काम गरे । ०४७ सालमा एमाले बझाङको उपसचिव, ०५३ मा त्यतिवेला प्रमुख पद मानिने पार्टी सचिव हुँदै उनी नबौ महाधिवेशनबाट हाल वैकल्पिक केन्द्रीय सदस्य छन । स्नाताकोत्तर तहको पढाइ पुरा गरेका सिंहले टिम्वर कर्पोरेशनको महाप्रवन्धक भएर कुशलतापूर्वक काम समेत गरेका छन । प्रस्तुत छ हाल एमालेका बझाङ इञ्चार्ज समेत रहेका सिंहसंग मंसिर १० गते हुने चुनावका सन्दर्भमा गरिएको कुराकानीको सारसंक्षेप ।
विगतमा धेरै चुनाव हार्नु भएको इतिहास छ यसपाली तपाईको माहोल कस्तो छ ?
विगतमा पार्टी स्थापित गर्नका लागि हार्ने चुनाव लडेको थिए । यद्यपी ०५१ सालमा देशभर एमालेको माहोल हुँदा पनि म १३१ मतले हारे । खासमा त्यतिवेला धाँदली भएका कारण म हारेको थिए । विगतमा जे भएपनि यसपाली मज्जाले चुनाव जित्ने अवस्था छ । एमाले एक्लै पनि जित्न सक्ने हो बझाङमा त्यसैमा माओवादी समेत थपिएपछि सजिलो भएको छ । स्थानीय तहमा एमालेले एक्लैले आठ तह जितेको थियो । एमाले र माओवादी दुवैका मत जोड्दा हामी कांग्रेसभन्दा १५ हजार मतले अघि छौ ।
उम्मेदवारी मनोनयनका बेला एमाले भित्रै विवाद देखिएको थियो अहिले कस्तो छ आन्तरिक एकता ?
शुरुमा केही समस्या देखिएको थियो । साथीहरुले चुनाव लड्ने आकंक्षा राख्नु स्वभाविक थियो तर अहिले सवै साथीहरु चित्त वुझाएर चुनावमा होमिनु भएको छ । एमालेका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री कमरेड भानुभक्त जोशी नेतृत्वको निर्बाचन मूल परिचालन समितिले जिल्लाभर व्यवस्थित र प्रभावकारी ढंगले चुनावी अभियान सञ्चालन गरिरहेको छ
।
तपाईका चुनावी एजेन्डा के हुन ?
प्रतिनिधिसभाले मुख्यतया नियम, कानून र सरकार निर्माण गर्ने हो । यसपाली बामगठवन्धनको सरकार बन्ने निश्चित भएकोले धेरै काम गर्न सकिन्छ भन्ने विश्वास मलाई छ । त्यसैले मैले मुख्य प्राथमिकता तिव्बत जोड्ने सडक बनाउन सम्वन्धित निकायमा पहल गर्नेछु । जिल्लामा अत्याधिकरुपमा पाइने जडिबुटीको उचित व्यवस्थापन गर्ने पहल गर्नेछु । हाम्रो जिल्लामा मुख्यतया जल, जंगल र जमिनको उचित व्यवस्थापन हुन जरुरी छ । त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगारीमा ध्यान दिनुपर्छ । मैले अहिलेको बझाङ जोडिने सडक, छिमेकी अरु जिल्लासंग जोडिने सडक र आन्तरिक सडक मर्मत, बिस्तार तथा निर्माणमा केन्द्रीय तहबाट पहल गर्ने बचन पनि जनतालाई दिएको छु ।
जिल्लाभर घुमिसक्नु भयो होला तपाईका एजेण्डा र उम्मेदवारीप्रति मतदाताको प्रतिक्रिया कस्तो छ ?
काँडाबाहेक सवै ठाउँमा जनताका घरमा पुगेको छु । जीवनभर राजनीति गरेको मान्छे एकपटक जिताउनुपर्छ भन्ने मान्यता धेरैको छ । विपक्षी नेता, कार्यकर्ताहरुले मलाई सहानुभूति दिइरहेका छन । हामी जहाँ गयौ त्यहाँ जनताले भव्य स्वागत गरेका छन । एमाले र माओवादी मिलेर चुनाव लडेकोले पनि अब गठबन्धनले चुनाव जित्छ र देशमा विकास हुन्छ भन्ने विश्वास जनतामा छ । ०५१ सालको एमालेको सरकारको प्रभाव जनतामा अझै छ त्यस्तै जनपक्षीय काम गर्नका लागि बामगठन्धन जित्नैपर्छ भन्ने मान्यता जनताको छ । मेरो एजेन्डा मतदाताले मन पराएका छन ।














प्रतिक्रिया