डोटी, ३० कात्तिक । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा डोटी क्षेत्र नं. ‘ख’ बाट प्रदेश सभाका उम्मेदवार त्रिलोचन भट्ट मतदाताहरुको खेतबारीमै पुगेर भोट माग्न थालेका छन् ।
आगामी मंसिर २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागी भोट माग्न जिल्लाको बोगटान र के.आई.सिंह गाउँपालिकाका मतदातालाई भेट्न खेतबारीमै पुगेका हुन् ।
संविधान सभाको पहिलो निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नं. १ बाट र दोश्रो संविधान सभा निर्वाचनमा डोटी क्षेत्र नं. २ बाट उम्मेदवार बेनका भट्ट आफु विजयी नभए पनि निरन्तर डोटेली जनताका बिचमा रहेर काम गरेकाले आफुलाई यस पटक जनताले विजयी गराउनेमा नेता भट्टले पूर्ण विश्वास रहेको बताए ।
भट्टले भने, ‘म हिजोका दिनहरुमा चुनाव हार्दा पनि जनताको बिचमा रहेँ, सकेसम्म जनताको लागि काम गरें, भोली पनि गर्नेछु, मैले यहाँका हरेक दुःखसंग सहकार्य गरेको छु । म अहिले भोट माग्नलाई मात्र जनताको खेतबारीसम्म पुगेको होईन, बिगतमा पनि जनताका यिनै खेतबारीसम्मका समस्याबारेमा जनतामाझ विकासका योजनाका लागि पुग्ने मान्छे हुँ ।’
डोटीको निर्वाचन क्षेत्र नं. २ मा २०६४ सालमा माओवादी विजयी भएको र २०७० सालमा एमालेले विजयी हासिल गरेको क्षेत्र भएको हुँदा यसपटक दुवै शक्ति एक भएकाले पनि आफु बामपन्थीको किल्ला भत्किन नदिने अवस्थामा रहेकाले सहजै विजयी हासिल गर्न सकिने भट्टको बुझाई छ ।
डोटेली जनताको माग अनुसार प्रदेश नं. ७ को राजधानी दिपायल बनाउने बिषयमा आफुले विगतदेखि निरन्तर संर्घष गर्दै आएको र भोलीका दिनमा पनि संघर्ष जारी रहने उनले बताए । भट्टले भने – ‘मेरा विरुद्ध मतदान गर्नेहरुले दिपायल राजधानी बनाउन नचाहेको भन्ने बुझिन्छ । म दिपायल राजधानी बनाउने विषयमा हिजो, आज र भोलि सधैँ प्रतिवद्ध थिएँ, छु र रहने छुँ । मेरो पार्टीको स्पस्ट खाका पनि दिपायल नै राजधानी हुन्छ भन्ने छ ।’
डोटीको क्षेत्र नं. ‘ख’ बाट प्रदेश सभाका लागि बामगठबन्धनका तर्फबाट त्रिलोचन भट्ट र नेपाली काँग्रेसका उम्मेदवार योगेन्द्र शाही मूख्य प्रतिष्पर्धीका रुपमा छन् ।












प्रतिक्रिया