कृष्णनगर, ३० कात्तिक । इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले ७ लाख ९ सय रकम बराबरको अबैध सामान पक्राउ गरी बुधबार भन्सार चलान गरेको छ ।
भारतबाट अबैध रुपमा चोरी निकासी गरी नेपाल भित्राइएका सामान सीमाक्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक गैरेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार विहान कृष्णनगर नगरपालिका १, कुकुरभुकुवा नाकाबाट ५० हजार ९सय बराबरको सामान बरामद गरेको हो ।
भारत सिद्धार्थनगर थाना त्रिलोकपुर निवासी ३७ वर्षीय बालकृष्ण भट्टले चलाई ल्याएको यूपी ५५ पी ६१२३ नम्बरको मोटरसाइकलमा लेडिज सुट, काँचो कपडा, जेन्ट्स पाइन्ट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको अवस्थामा पक्राउ गरिएको गैरेले बताउनुभयो । साथै मोटरसाइकल र चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जनाउनुभयो ।
यसैगरी बुधबार दिउँसो करीब २ बजेको समयमा कृष्णनगर नगरपालिका ६, बन्चौरा नाकाबाट ६लाख ५० हजार बराबरको अबैध सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिवराज नगरपालिका ३ बस्ने बर्ष २८ को प्रकाशचन्द्र पौडेलले चलाएको ग २ च ३३८४ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको प्लाष्टिकले बुनेको ११४ थान फलामको खाट सहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।
भारत जिल्ला सिद्धार्थनगर थाना गौरेला घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका ३ मा पसल गरी बस्ने बर्ष ३५ का बिजयकुमार जैसवाललाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जनाउनुभयो ।
पक्राउ गरिएका सामान, नियन्त्रणमा लिएका ३ जना मानिस, मोटरसाइकल र पिकअप गाडी समेत आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार चलान गरिएको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।
भारतबाट अबैध रुपमा चोरी पैठारी भइरहेको जनगुनासो बढेसँगै यतिबेला कृष्णनगर क्षेत्रमा इलाका प्रहरी कार्यालय कृष्णनगरले गस्ती अभियानलाई तिब्रता दिँदै आएको छ ।












प्रतिक्रिया