– यज्ञप्रसाद सापकोटा
बर्दिया, २९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाम गठबन्धनको स्थायी सरकार बन्ने निश्चित भएकोले अब देश विकासको ढोका खुल्ने बताएका छन् । उनले विकासलाई अभियान सँग जोडेर लैजाने हो भने विकास गर्न धेरै समय नलाग्ने बताए ।
बर्दियाको बाँसगढी नगरपालिका ८ लक्ष्मणमा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गौतमले सो कुरा बताएका हुन् । उनले बर्दियामा तिन महिनामा २३ करोड लगानीमा २२ किलो मिटर नहर बनाएको स्मरण गर्दै गौतमले भने त्यो त्यसै सम्भव भएको होईन जनताको साथ लिएर विकासलाई अभियानको रुपमा लगेकोले भएको हो ।
नेकपा एमालेका उपाध्यक्ष गौतमले २०५१ सालको नौ महिने शासनकालमा आफ्नै नेतृत्वमा लोकप्रिय नीति र कार्यक्रमहरु बनेको बताउँदै अहिले सम्म ति नीति र कार्यक्रम लागु भईरहेको बताउनु भयो । अब बन्ने सरकारले देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा नै जोड दिने बताउँदै उनले भने पुर्वपश्चिम राजमार्गलाई ८ लेनको बनाउने र पुर्व देखि पश्चिम सम्म तिव्र गतीको विद्युतीय रेल छिट्टै नै सञ्चालन गरीने बताए ।
नेपालीहरु सबै श्रमजीवि भएको बताउँदै श्रमजीविहरुले काम गर्न पाउनु पर्ने र त्यसको ग्यारेन्टी बाम गठबन्धनको सरकारले गर्ने गौतमले बताउनु भयो । उनले भने ८० प्रतिशत कृषि पेशामा आश्रित रहेका नेपालीहरुका लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको छ ।
उपाध्यक्ष गौतमले गणतन्त्र ल्याउन काँग्रेसको कुनै भुमिका नखेलेको बताउँदै अहिले गणतन्त्र जोगाउनका लागि नै बामएकता गर्नुपरेको बताउनु भयो । अहिले बाम एकता गरेकै कारण काँग्रेसमा अहिले ठुलै हलचल मच्चिएको बताए ।
सरकारमा भएर पनि नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरित काम गरेको उपाध्यक्ष गौतमले बताए । उनले भने गरिब जनतालाई प्रभावमा पार्नका लागि नयाँ नयाँ योजनाको घोषणा गर्ने, भोट किन्ने, मतदातालाई प्रलोभनमा पार्ने गरेका छन्, जनतालाई सुन बाँडेपनि बाम गठबन्धनको पक्षमा जनता भएको कारण बाम गठबन्धनले जित्न ठोकुवा गरे ।











प्रतिक्रिया