बाजुरा, २६ कात्तिक। नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले आगामी पाँच वर्षे योजना सहीत चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्ला तहमा बाम गठबन्धनका तर्फबाट गर्ने योजना र नीति सहीतको १२ पृष्ठ लामो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
बाजुराली जनताको सुख, समृद्धि र समुन्नतिका लागि मार्गचित्र बनाउने, उक्त मार्गचित्र कार्यान्वयन गर्न नागरिकको स्रोत नागरिककै उपभोग नीति अनरुप “एक घर एक स्वःरोजगार, मासिक आम्दानी कम्तिमा बीस हजार” अभियान संचालन गर्ने, बैंक तथा वित्तीय क्षेत्रमा बाजुरावासीको पहुँच बृद्धि गराउन “एक स्थानीय तह– एक बैंक, एक वडा–एक सहकारी, एक नागरिक–एक बचत खाता” अभियान सञ्चालन गरिने बताइएको छ ।
यसैगरी विपन्न समुदाय, आर्थिक जोखिममा परेका, अल्पसंख्यक र अति दुर्गम तथा पिछडिएका गाउँहरुका सबै कृषकलाई लक्षित गरी बीऊ पूँजीकोष खडा गरिनेछ ।“वडा–वडा, सबै टोलमा सडक घुमाउने–कति सुन्दर बाजुरा मनै रमाउने ।” दुई वर्षभित्र जिल्लाका सबै स्थानीय तहलाई मुल सडकसँग जोडिनेछ । मार्तडी—कोल्टी—कवाडी र कोल्टी—जुकोट—साप्पाटा सडक निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने पत्रमा उल्लेख गरिएको छ ।
कर्णालीको तीर हुँदै लामाओढार – काटेपहरा सडक निर्माण गरी कालिकोट र मुगु जिल्लासँग जोड्न र हाल ट्रयाक खोलिएका सबै स्थानीय सडकहरूलाई एकीकृत गर्दै लिने मुल सडकको बीचमा पर्ने नदीहरु कर्णाली, दानसाँगु, बाउली, भौनेरा, मालागाड, मौरे÷बुढीगंगामा पक्की पुल निर्माण गर्ने बताईएको छ ।
कोल्टी–नेपालगन्ज, कोल्टी–धनगढी सरल र सुलभ हवाई सेवा संचालन गरिने छ । हवाईसेवाको भाडादर सुलभ बनाइने, “उज्यालो बाजुरा” अभियान सञ्चालन गरी हाल छरिएर रहेका लघु जलविद्युतहरूलाई एकीकृत गरी संयुक्त पावर संचिती र व्यवस्थापन गर्ने बुढीगंगा दोस्रो, तेस्रो, चौथो र कवाडीमा विद्युत उत्पादनको कार्य प्रारम्भ गर्ने र “बाजुराको पानी–बाजुराली जनताको लगानी” अन्तर्गत ठूला जल विद्युत परियोजना संचालनको लागि पहल गर्ने उल्लेख गरिएको छ ।
सामुदायिक वन व्यवस्थापन प्रक्रिया सरलीकृत गरी वन र वनजन्य उत्पादन मार्फत महिला र युवा स्वःरोजगारी प्रबद्र्धन गर्ने, वन विनाश, वन अतिक्रमण र वनजन्य उत्पादनका सामग्रीको गैर कारोबार नियन्त्रणका लागि स्थानीय सरकारलाई थप उत्तरदायी र जवाफदेही बनाउने बताएको छ ।
धार्मिक वनको सामूहिक व्यवस्थापन, निजी तथा पारिवारीक वन विकास र व्यवस्थापनमा समुदायलाई उत्प्रेरित गर्ने “व्यवसायकि कृषि – किसानको समृद्धि” अभियान संचालन गर्ने तथा कृषि उत्पादन बृद्धि र यसको बजारीकरणका लागि “कृषक सहयोग कार्यक्रम” सञ्चालन गर्ने उल्लेख छ ।
किसानलाई बीऊ—विजन, मल, प्राविधिक सेवा, कृषि बीमा, भण्डारण तथा बजारीकरणका लागि विशेष अनुदान, राहत र सहयोग उपलब्ध गराउने, “एक गाउँ, एक उत्पादन” कार्यक्रम अन्तर्गत जिल्लाको भौगोलिक विशिष्टताका आधारमा वाली, बस्तुको पकेट छनौट गरी व्यवसायिक उत्पादन गरिने छ । जैतुनक्षेत्र (जोन) लाई सुपर जोनका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
भूमिहिन, हलिया, सुकुम्बासी लगायतका अति विपन्नलाई भूमि माथिको हक अधिकार स्थापित गराउन वैज्ञानिक भू—व्यवस्थापन पद्धतिको माध्यमबाट भू—उपयोग नीति लागू गर्ने, “फलपूmल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं” भन्ने नाराका साथ व्यवसायिक फलफूलखेतीलाई बिस्तार गर्ने र नौ वटै स्थानीय तहमा नमुना कृषि र पशुपंक्षी फार्म र जिल्लामा एउटा अनुसन्धान केन्द्रको स्थापना गर्ने योजना अघि सारेको छ ।
५ वर्षभित्र बाजुरालाई पशुजन्य उत्पादन निर्यात गर्न सक्ने जिल्लाका रूपमा विकास गर्ने र स्थानीय वालीहरुः ऊवा, फापर जौ, चिनो, झुमरो, कोदो, सिमी, कागुनो, मार्से, जनालोको संरक्षण र प्रबद्र्धन गरी खाद्य सुरक्षामा टेवा पु¥याउनुका साथै यसको बजारीकरणमा जोड दिर्ने बताईएको छ ।
साक्षर बाजुरा अभियान सञ्चालन गरी किशोर किशोरीहरूको उच्चतम परिचालन मार्फत् बाजुरालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने र जिल्लामा एउटा प्राविधिक शिक्षालयको अनिवार्य स्थापना गरी ज्ञान, सीप, सदाचारयुक्त र उद्यमशील जनशक्ति विकास गर्ने तथा हाल कायम रहेका क्याम्पसहरूको गुणस्तर अभिबृद्धिका लागि सबै क्याम्पसमा पुस्तकालय प्रवद्र्धन गर्ने र क्याम्पसलाई अनुसन्धान र विकास केन्द्र का रूपमा विकास गर्ने योजना छ ।
‘किशोरकिशोरी तथा दौतरी शिक्षा र जीवन सुरक्षा’ अभियान संचालन गर्ने शिक्षकको आत्मसम्मान, व्यावसायिकता र पेशागत सुरक्षाका लागि विशेष लक्षित कार्यक्रम सञ्चालन गर्ने, “बाजुरा जिल्लाको इच्छा, सबै बालबालिकालाई जीवनोपयोगी शिक्षा ।” अन्तर्गत विद्यालय बाहिर रहेका र सिकाई क्षमता कमजोर भएका दलित, विपन्न, द्वैभाषिक, गरिब, असहाय, अपाङ्ग, द्वन्द्वपीडित परिवार, सहिद परिवार, मुस्लिम, जनजाति लगायत सीमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गरी गुणस्तरीय शिक्षामा पहुँच र सहभागिता बढाउने नीति बताएको छ ।
प्रारम्भिक बाल विकास केन्द्रहरु (इसिडि) को पहुँच बिस्तार गरी प्रभावकारी बनाइने छ । र बाजुरा जिल्ला अस्पतालको स्तरोन्नति गरी १०० शैया, कोल्टी र टाँटे प्राथमिक स्वास्थ्य केन्द्रको क्षमताबृद्धि गरी ५० शैयाको बनाउने बताएको छ ।
प्रत्येक बाजुरावासीको वार्षिक १ लाख रुपियाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरिबी परिचय–पत्र प्राप्त गरेका घरपरिवारका व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि वर्षको दुई पटक १५ हजारका दरले उपचार सहयोगको प्रबन्ध मिलाउने मातृ–शिशु स्वास्थ्य, बाल स्वास्थ्य, बृद्धबृद्धाको स्वास्थ्य र हेरचाहका निमित्त सबै स्थानीय तहका स्वास्थ्य संस्थामा विशेष व्यवस्था, संस्थागत सुत्केरी, जन्मदर्ता र नामाकरण अनिवार्य गर्ने बताएको छ ।
प्रसूति स्याहार, शिशुस्याहार र पोषणभत्ता उपलब्ध गराइने र आँखा, मुटु, कलेजो, मृगौला, पाठेघरजस्ता अति संवेदनशील अंगहरूको स्वास्थ्य सुरक्षा सम्बन्धी संचेतना र जागरण बृद्धि गर्न रेडियो र छापा माध्यमद्वारा प्रचार–प्रसार गरी स्वास्थ्य चेतना बिस्तार गर्ने नीति लिएको छ ।
“सात्विक खाना, नियमित व्यायाम, योग र ध्यान – खुशी मन, सृजनशील दिमाग र स्वस्थ जीवन” अन्तर्गत बृद्धबृद्धा, श्रमिक, बेरोजगार, असहाय, अनाथ र अशक्त (अपांग) व्यक्तिहरूको लागि आर्थिक सहयोगको व्यवस्था गर्ने र एक घर, एक सुधारिएको चुल्हो कार्यक्रमका लागि अनुदान दिने बताएको छ ।
“सफा चर्पी, स्वच्छ पिउने पानी – चारैतिर सफासुग्घर, स्वस्थ जीन्दगानी ।” सम्पूर्ण समुदायमा एक घर, एक धाराको कार्यक्रम कार्यान्वयन गर्ने, यातयात मजदुरहरु र यात्रीहरुको सुबिधालाई ध्यानमा राखि सडकको १५/१५ किलोमिटरको दूरी प्रयोगकर्ता मैत्री पानीको सुबिधा सहितको सार्बजनिक शौचालय निर्माण गरी सोही ठाउँमा मात्र यातायातका साधन रोक्ने व्यबस्था गर्ने, संचार सुबिधा नपुगेका सबै गाउँमा एक वर्ष भित्र टेलिफोन, ईन्टरनेट सुबिधा पु-याइने छ । स्थानीय संचार माध्यम विकासका लागि संचालनमा भएका एफ.एम. रेडियोहरु र दर्ता भएका पत्रिकाहरुको नियमितताको लागि क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।
“सच्चा मानवप्रेम नै हो धर्म – असल संस्कृतिमा हुन्छ सत्कर्म ” अभियान अन्तर्गत स्थानीय संस्कृतिको जगेर्ना, धार्मिक सहिष्णुता र सांस्कृतिक एकीकरणका लागि बाजुरा जिल्लामा रहेका सबै धार्मिक समुदायको अन्तर सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र बाजुरा जिल्लाभरिका सबै मातृभाषाको संरक्षण र सम्वद्र्धनका लागि विद्यालय, सामाजिक संस्थाहरु र स्थानीय सरकारहरुलाई प्रोत्साहित गर्ने बताईएको छ ।
बिच्छ्यामा गुम्बा र कोटिलामा मस्जिद निर्माण गर्ने र पादुका क्षेत्र विकासमा विशेष जोड दिने, बडिमालिका, वडालेक, बुढीनन्दा¸ स्बामीकार्तिक, ज्यूलेकमाण्डौं, विर्जयामाण्डौं, जगन्नाथ ठाकुर¸ तलिगोठी कैलाश, रतुणा कैलाश¸कोटिला कैलाश¸ खापर देवस्थली नाटेश्वरीजस्ता धार्मिक महत्वका स्थानहरुलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, खप्तड–रारा पदमार्गलाई थप बिस्तार र व्यवस्थित गर्ने, र बडिमालिका र बुढीनन्दालाई पर्यटकीय क्षेत्र घोषणा गरी ती क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण गर्ने नीति लिएको छ ।
“कर्मशील हात, परिश्रमी मन – विकासमा युवा, लगाऊ तन” प्रत्येक वर्ष २०० जना युवालाई उच्चस्तरीय सीपयुक्त तालिम संचालन गरी दक्ष जनशक्ति विकास गरिनेछ । “स्वस्थ, क्रियाशील युवा र दुव्र्यसनमुक्त समाज विकास” गर्न मदिरा, सूर्तिजन्य पदार्थको व्यवस्थापन र नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।
सृजनशील युवा जनशक्तिको पलायन रोक्न युवाहरुमा रहेको सीप उपयोग गरी स्वःरोजगारीका अवसरहरु विकास गरिने छ । विभिन्न विषयका उच्चस्तरीय तालिमहरु उपलब्ध गराउने र स्वदेशमै रोजगारीमा संलग्न हुन उत्प्रेरित गरिनेछ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाइने छ ।
श्रमिकको हक, हित र कल्याणका लागि जीवन निर्वाह हुने गरी ज्याला कायम गर्न सबै स्थानीय सरकारसँग सहजीकरण गर्ने, श्रमिकको सुरक्षाका लागि श्रमिक बैंक स्थापनाको लागि पहल गर्ने र रोजगारमा आधारित उद्योग विकासमा युवाको सहभागिता बृद्धि गर्न युवाहरुलाई सहुलियत ऋणको व्यवस्था गर्ने र हरेक व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारी सुनिश्चित गराइने लक्ष्य लिएको छ ।
कोल्टी, वाँधु, जगनाथ, बाउलीखोला, ब्रह्मतोला, कुलदेवमाण्डौं, बुढीगङ्गा नदीको आसपास प्राकृतिक प्रकोपको दृष्टिमा उच्च जोखिममा रहेका ठाउँहरुमा नदी नियन्त्रण, एकीकृत बस्ती विकास कार्यक्रम संचालन गर्ने र बृक्षारोपण र तटबन्दन समेतका ठूला परियोजना संचालन गर्नुका साथै समुदायमा प्रकोप पूर्व तयारी गर्ने सीप र क्षमता विकास गर्ने बताएको छ ।
“सु–सूचित जनता, सु–संस्कृत नेता” सुशासनको प्रत्याभूति गर्न सबै सरकारी कार्यालयहरुमा स्थानीय भाषामा नागरिक वडापत्रको व्यवस्था¸ घुम्ती सेवा केन्द्र बिस्तार¸ घरदैलो कार्यक्रम र नागरिकसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गर्ने, सरकारी कर्मचारीमा उत्तरदायित्व¸जवाफदेहिता र पारदर्शिता प्रवद्र्धन गर्न सदाचार र असल आचार अवलम्वन गर्न प्रोत्साहित गर्ने नीति लिएको छ ।
बालमैत्री सुशासन, बाल अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने, सामाजिक न्याय र समतामूलक समाजको स्थापनाका लागि सबै स्थानीय तहमा समावेशी एकाईको स्थापना गरिने र निर्णय प्रक्रियामा समान सहभागिता, महिला माथि हुने सम्पूर्ण विभेद हटाउने, छाउपडी प्रथा उन्मुलन गर्ने, सम्पत्ति माथिको समान अधिकार कार्यान्वयन गर्ने, समान र न्यायिक महिला शिक्षामा केन्द्रित कार्यक्रम संचालन गर्ने बताएको छ ।
जनजाति र अल्पसंख्यकको समावेशी विकास प्रक्रियाको सुनिश्चितता गरिने र एचआईभीको संक्रमण रोक्ने र संक्रमितहरुले पाउने उपचार लगायतका सेवाहरु सरल र सुलभ बनाइने र जिल्लामा कम्तिमा एउटा आकस्मिक ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरी संचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया