– डिलप्रकाश गौतम
बर्दिया, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधी सभा बर्दिया क्षेत्र नं. १ का उम्मेदवार बामदेव गौतमले बाम गठबन्धनलाई निरंकुश हो भन्नु मानसिक सन्तुलन गुमाउनु हो भन्नुभएको छ ।
बर्दियाको गुलरियामा वडा स्तरीय चुनावी सभामा बोल्दै नेकपा एमालेका उपाध्यक्ष एवं बर्दिया क्षेत्र नं. १ का उम्मेदवार बामदेव गौतमले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका बाम गठबन्धनलाई निरंकुशताको संकेत गर्नु मानसिक सन्तुलन गुमाउनु हो भन्नुभएको हो ।
२०४१ सालदेखि कम्यूनिष्ट आन्दोलनबाट बर्दियामा राजनीतिक जीवन सुरु गर्नुभएका बामदेव गौतमले बर्दिया मेरो बृत्ता हो भन्नु सामन्त सोच भएको बताउनुभयो । बाम एकताको संदेशले बैशाख १२ गते भएको भूकम्पको झडका भन्दा बढी झडका नेपाली काँग्रेसलाई लागेकोले काँग्रेस अताल्लीएको बताउनुभयो ।
लामो समय राज्य सत्ताको बागडोर सम्हालेको नेपाली काँग्रेस अबको ५० बर्ष सम्म प्रतिपक्षमा बस्ने दिनआएको समेत गौतमले दावी गर्नुभयो । चुनावी सभा सम्बोधन गर्नुहुँदै गौतमले भन्नुभयो– ‘आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले कहाँ जित्छ भनेर दुरबिन लगाएर हेर्नुपर्ने अवस्था आएको छ ।’
शनिबार बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा भएको चुनावी सभामा मधेशी लोकतान्त्रिक फोरमका बर्दिया जिल्ला सदस्य सावुदिन शेष, अवदुलकारी शेष लगायत दर्जनौ नेता तथा कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् ।
नवप्रवेशिकाहरुलाई प्रतिनिधि सभा सम्मेदवार बामदेव गौतम र प्रदेश सभा उम्मेदवार तिलक शर्मा (हिमाल)ले अविर र फुल मालाले स्वागत गर्नुभयो ।














प्रतिक्रिया