काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले)का नेता जीवनराम श्रेष्ठले मुलुकमा विशिष्ट परिस्थितिमा गठन भएको वाम गठबन्धनले आसन्न निर्वाचनमा बहुमत ल्याउने बताउनुभएको छ ।
नेकपा (एमाले) वडा कमिटीले काठमाडौँ महानगरपालिका–२३ स्थित ओमबहालमा आयोजना गरेको कार्यक्रममा क्षेत्र नं ८ का प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले एमालेको नेतृत्वमा बन्ने वाम सरकारले जनपक्षीय ऐन कार्यान्वयन गर्ने बताउनुभयो ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्यसम्म ‘सम्पदा पैदल मार्ग’ निर्माण गरी पर्यटकलाई आकर्षित गरिने उहाँले बताउनुभयो । जीवित देवी कुमारी परम्परा, विभिन्न शक्ति पीठ, आकाश भैरव, भीमसेन मन्दिर, शोभाभगवती, विजेश्वरी, आदेश्वर महादेव, सीता पाइला (देवी सीताले टेकेको पाइला) मन्दिरको विशेष संरक्षणका लागि सांस्कृतिक पर्यटन केन्द्र स्थापना गरिने नेता श्रेष्ठले बताउनुभयो ।
“काष्ठमण्डप दुई वर्ष भित्रमा पुनःनिर्माण गरिन्छ, भूकम्पबाट क्षति भएका कतिपय निजी घर धरापमा छन, तिनको व्यवस्थापन गर्ने योजना छ,” उहाँले भन्नुभयो ।
स्वस्थ्य जीवनका लागि खेलकुदको महत्व रहेकाले खेलमैदान निर्माण गरी खेलाडी उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।
कामनपा–२३ का वडाध्यक्ष मचाराजा महर्जनले स्थानीय विकासका लागि प्रदेश र केन्द्रका अधिकार बाँडफाँडलाई न्यायोचित र वैज्ञानिक बनाउन अहिलेको चुनावमा एमालेको नेतृत्वमा वाम सरकार आवश्यक रहेको बताउनुभयो । रासस













प्रतिक्रिया