बनियानी (झापा), १ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ ८ गतेभित्र जसरी पनि संविधान जारी हुने बताउनुभएको छ ।
यही मङ्सिर २ र ३ गते हुने एमाले इलामको अधिवेशन उद्घाटन गर्ने कार्यक्रमका लागि झापा आइपुग्नुभएका अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संविधान निर्माणमा एमाओवादीलृे अवरोध खडा गरी जनतामा मस्यौदा जान नदिएको हुँदा त्यसको विरुद्धमा सत्ता पक्ष लागिपरेको स्पष्ट गर्नुभयो ।
उहाँले केही दल सहमत नभए पनि आउँदो माघ ८ गतेभित्र संविधान जारी हुने ठोकुवा गर्नुभयो । ‘संविधानसभालाई असफल बनाएर सत्ता कब्जा गर्ने एमाओवादी रणनीतिलाई असफल बनाएर नेपाली जनताको चाहना समेट्ने नयाँ संविधान निर्माण गर्न काँग्रेस एमाले प्रतिबद्ध छन् ।’
संविधान निर्माणका लागि गठित संवाद समितिका सभापति डा बाबुराम भट्टराईले एमाओवादको विचार लादेर संविधानको मस्यौदा जनताका माझमा लान ढिलो गरेकोे आरोप लगाउँदै ओलीले समितिका सभापति देश र जनताको हुन नसक्नु दुर्भाग्य रहेको बताउनुभयो ।
‘एमाओवादीले जनताको प्रतिनिधित्व बिर्सिएर सम्प्रदायको नेतृत्व गर्न खोज्दा देश द्वन्द्वतिर ढल्कँदै गरेको हो’– ओलीले भन्नुभयो, ‘लोकतन्त्र मान्छु भन्नेले प्रक्रियालाई मान्दिन भन्नु अलोकतान्त्रिक व्यवहार हो, उद्दण्ड चरित्रले जनताको अधिकार सुरक्षित हुँदैन ।’















प्रतिक्रिया