३१ आश्विन २०८३, शनिबार

सहमति नभए प्रक्रियाबाटै निर्धारित मितिमा संविधानः गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamबुटवल (खस्यौली), २८ कात्तिक । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले निर्धारित मिति माघ ८ मै नयाँ संविधान आउने दाबी गर्नुभएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १५ औँ साधारणसभा तथा नवौँ अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उहाँले सहमतिबाट हुन नसके प्रक्रियाबाटै भएपनि निर्धारित मिति माघ ८ अगाडि नै संविधान दिने दाबी गर्नुभयो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्ष्यित गर्र्दै उहाँले अब कुनै प्रकारको निरङ्कुशता टिक्न नसक्ने बताउनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका मन्त्री गौतमले सहमतिमा पनि नआउने र प्रक्रिया पनि मान्दिन भन्ने कुरा निरङ्कुशता हो भन्नुुभयो । सत्तारुढ दलहरुमा बहुमत रहेकाले सहमतिबाट नभए प्रक्रियाबाट संविधान ल्याउन कुनै समस्या नभएको उहाँको भनाइ थियो ।

उहाँले यातायात क्षेत्रमा ठूलो लगानी भएको औँल्याउँदै यातायात क्षेत्रलाई नियमन गर्न छुट्टै मन्त्रालयको खाँचो औँल्याउनुभयो ।

सूचना प्रविधिका कारण विश्व साघुरिँदै गएको बताउँदै उहाँले विश्व बजारीकरणको युगमा व्यवसाय पनि प्रतिस्पर्धी हुनुपर्ने धारणा राख्नुभयो । ‘कुनै पनि व्यवसाय आफू भित्रभित्रै सञ्चालन गरेर विकास गर्न सकिँदैन,’ उहाँले भन्नुभयो– ‘त्यसै भएर यातायात, विद्युत्लगायतका क्षेत्रमा सार्क सम्मेलनमा क्षेत्रीय स्तरको सम्झौता गर्न लागिएको हो ।’

सवारी ऐन संशोधनको प्रक्रियामा रहेको र अब आउने ऐन कडा र प्रभावकारी हुने दाबी पनि उहाँले गर्नुभयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले नेपालमा सवारीसाधन ल्याउँदा भन्सारका कारण भारतको तुलतामा तीनगुणा बढी मूल्य पर्ने औँल्याउँदै सार्क स्तरीय सम्झौतामा नेपालका व्यवसायीलाई ध्यानमा राखेर सम्झौता गर्न आग्रह गर्नुभयो ।

यही मङ्सिरको १० र ११ गते हुने सार्क सम्मेलनमा सरकारको तर्फबाट यातायात सम्झौताको तयारी पनि गरिएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष गणेश पन्थले नेपालमा सडकको क्षमताभन्दा बढी सवारीसाधन रहेका कारण सवारीसाधन आयात नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले छुट्टै यातायात मन्त्रालय स्थापना गर्न, वैज्ञानिक ढुवानी भाडादर कायम गर्न, निर्वाध आगमन भइरहेका भारतीय सवारीसाधनलाई रोक्न तथा ‘ओभरलोड’लाई नियन्त्रण गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सोही अवसरमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिले स्थापना गरेको ट्रक यातायात पत्रकारिता पुरस्कारबाट पत्रकार हरिश ढकाललाई सम्मान गरिएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ ।