कञ्चनपुर, २८ कात्तिक । महाकाली अञ्चल अस्पतालमा नौजना विशेषज्ञसहित १९ जना चिकित्सकको दरबन्दीमा एकजना मात्रै चिकित्सक कार्यरत रहेका छन् ।
अठार जना चिकित्सकको दरबन्दी वर्षौंदेखि रिक्त रहेको छ । अस्पतालमा कार्यरत चिकित्सकमध्ये मेडिकल सुपरिटेन्डेन्टसहित नौजना काज, चिकित्सा परिचालन समिति र व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन् ।
दरबन्दीका डेन्टल सर्जन श्यामकुमार चौधरी गत वर्षदेखि अस्पतालमा कार्यरत रहनुभएको छ । अञ्चल अस्पताल व्यवस्थापन समितिले थप दुईजना चिकित्सकका लागि विज्ञापन गरी थप्ने प्रक्रिया सुरु गरेको छ । समितिले दुईजना थपेपछि अस्पतालमा ११ जना चिकित्सक पुग्नेछन् ।
महाकालीका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन चार दशकअघि स्थापना गरिएको अस्पतालमा अहिलेसम्म चिकित्सक दरबन्दी पूर्ति हुन सकेको छैन ।
अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले स्थापनाकालदेखि चिकित्सकका दरबन्दी पूर्ति हुन नसकेको बताउनुभयो । स्वास्थ्य सेवा विभागले चिकित्सक सरुवा गरेपछि नयाँ पठाउन नसक्ने भएपछि दरबन्दी खाली भएका हुन् ।
यसैगरी सेवा अवधि पूरा नगरेका चिकित्सकलाई समेत सरुवा गरी विभागले नै समस्या बल्झाउने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन् ।
विभागले दुई वर्षअघि तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्ररमण सिंहलाई विभाग बोलाएपछि अहिले सुपरिटेन्डेन्टको जिम्मेवारी निमित्त भएर काम गरिरहेका चिकित्सक अर्जुन श्रेष्ठले धानिरहेका छन् । अस्पतालका निमित्त प्रमुख श्रेष्ठले जनशक्ति अभावमा प्रभावकारी रूपमा सेवा दिन अप्ठेरो परेको बताउनुभयो । रासस















प्रतिक्रिया