काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाका स्थल सेनाध्यक्ष दलबीर सिंहले बिहिबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका अवसरमा नेपाल भारत सैन्य सम्बन्ध र आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।
भेटमा भारतीय सेनाध्यक्ष सिंहले भारतको सैन्य सेवामा नेपालीहरुले महत्वपूर्ण योगदान गरेको बताउँदै भारतीय सेनामा कार्यरत भूतपूर्व गोर्खा सैनिकहरुलाई भारतीय भूतपूर्व सैनिकहरुले पाएसरहको कल्याणकारी सहुलियत दिन भारत सरकार इच्छुक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भूतपूर्व गोर्खा सैनिकलाई क्यान्टिन र औषधोपचार सेवा प्रदान गर्न भारत सरकार तयार रहेको पनि बताउनु भएको थियो ।
भेटवार्तामा भारतीय सेनाध्यक्ष सिंहले आन्तरिक विद्रोहमा लागेका माओवादी लडाकूहरुको समायोजन छोटो समयमा सफलतापूर्वक सम्पन्न गरी नेपालले विश्वसामु एक उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।
वार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल र भारतबीच हरेक क्षेत्रमा अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताउनुभयो ।
उहाँले नेपाली जनताले विगत ६ दशकभन्दा बढीको समय प्रजातन्त्रको स्थापना, पुनस्थापना र संस्थागत विकासको संघर्षमा विताउन परेकोले विकासमा त्यति ध्यान दिन नपाएको बताउँदै संविधानसभाबाट निर्धारित मितिमा संविधान जारी भएपछि विकासको गति तीव्र हुने उल्लेख गर्नुभयो ।
उहाँले शसस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण, हतियारको व्यवस्थापन र लडाकू समायोजन जस्ता जटिल कार्यहरु सहजतापूर्वक सम्पन्न भएकोले संविधान निर्माणमा देखिएका केही मतभेदहरु सहमति मिल्ने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया