ललितपुर, २७ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले बिहीबार प्रमुख तीन दलका शीर्ष नेताहरुसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोनमा कुराकानी गर्दै कुनै न कुनै विषयमा सहमति गर्न आग्रह गर्नुभएको हो ।
उहाँले फोनबाटै कुराकानी गर्दै संवाद समितिको बैठकअघि नेपाली काँग्रेस र एमाओवादीबीच प्रधानमन्त्री निवास बालुवाटार र नेकपा एमाले र एमाओवादीबीच राज्यव्यवस्था समितिको बैठककक्ष सिंहदरबारमा द्विपक्षीय वार्ताको तयारी गर्नुभयो । काँग्रेससँगको छलफल शुक्रबार बिहान ८ बजेर ३० मिनेटमा र एमालेसँगको छलफल बिहान १० बजे हुनेछ ।
यसैबीच सभापति भट्टराईले बिहीबार नै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि संविधान निर्माणका विषयमा परामर्श गर्नुभएको छ ।
‘विगतका आन्दोलनका उपलब्धिको रक्षा गर्ने गरी सहमतिकै आधारमा संविधान निर्माण गर्न अन्तिमसम्म पनि प्रयत्न गर्नुपर्छ भन्ने ढंगले उहाँसँग कुराकानी भएको छ’, परामर्शका विषयमा सभापति भट्टराईले भन्नुभयो ‘उहाँ आफूले पनि विगतका मधेश आन्दोलन, जनयुद्ध, जनआन्दोलनका उपलब्धिहरुलाई रक्षा गर्दै सहमति र सम्झौताकै आधारमा संविधान बनाएर जानु उपयुक्त हुन्छ भन्ने विचार गर्नुभएको छ ।’















प्रतिक्रिया