काठमाडौं, ६ कात्तिक । नयाँ मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरमा सजाय निर्धारण गर्दा घटनाको प्रकृति, कसुरदारको अवस्था, मृतक वा पीडित पक्षको अवस्थालाई समेत मध्यनजर गरिएको छ ।
जानाजानी वा नजानेर गरिएका कसुरमा फरक–फरक सजाय निर्धारण गरिएको देवानी कानुनको संशोधन र एकीकरण गर्न गठित उपसमिति संयोजकसमेत रहेका कांग्रेस नेता राधेश्याम अधिकारीले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गर्दा आत्मसंयमका लागि उत्तेजना दिलाउने व्यक्तिलाई हत्या गर्नेलाई १० देखि १५ वर्ष जेल सजाय र एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ । मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा १० देखि १५ वर्ष वा हत्याको प्रकृति हेरेर जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ ।
कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मारे तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवाना हुनेछ ।
हेलचेक्र्याइँ गरी कसैको ज्यान मार्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयासम्मँ जरिवाना, कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ ।
बाँचुन्जेल जेल बस्नुपर्ने अपराध
– क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको
– अपहरण गरी वा वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको
– अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको
– सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको
– कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको
– जबर्जस्ती करणी गरी ज्यान मारेको












प्रतिक्रिया