त्रिशूली, १ कात्तिक । नेपाल-चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ। चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो ।
काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा तिहारसँगै चहलपहलसमेत बढेको बेला चीनिया सुरक्षा अधिकारीले रसुवागढी-केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक शरतकुमार थापाक्षेत्रीले मंगलबार जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
केरुङतर्फ यायातातका साधन जान ठप्प रहेको छ भने पहिले नै केरुङ पुगेर वसेका यातायातका साधन भने धमाधम फर्किरहेको उनले बताए ।नेपाल-चीन सिमा भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा तैनाथ चीनिया सुरक्षा अधिकारीले नेपालका सुरक्षा अधिकारीलाई केरुङतफै पहिरो गएका कारण त्यसलाई मर्मत गर्नु पर्ने भएका कारण अक्टोवर १६ अर्थात असोज ३० गतेदेखि अक्टोवर २२ अर्थात कार्तिक पाँच गतेसम्म रसुवागढी नाका बन्द गरिएको जानकारी दिएको रसुवा प्रहरी प्रमुख थापाक्षेत्रीले बताए।यससँगै नेपालको उत्तरी सीमा रसुवागढीबाट केरुङ जान रोक लगाइएको छ ।
चीनिया पक्षले पहिरोको कारण देखाएर रसुवागढी नाकावाट आवतजावत बन्द गरेपनि चीनमा कात्तिक १ गते अर्थात अक्टोवर १८ तारेखदेखि आयोजित नेशनल कंग्रेसको कार्यक्रमलाई मध्यनजर राखी नाका बन्द गराइएको स्थानीयवासीको भनाई छ।सो कार्यक्रमका समयमा चीन विरोधी गतिविधि हुन सक्ने विषयलाई मध्यनजर गर्दै रसुवागढी नाका बन्द गरिएको जनाइएको छ ।
यद्यपि एकसाता सम्म भने आवतजावत पुर्ण रुपमा बन्द हुने चीनिया पक्षवाट जानकारी आएको नेपाली सुरक्षा अधिकारीहरुको भनाइ छ ।
तिहारमा नेपालीका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने भन्सार हातामा भित्रिरहेको छ भने चिनियाँ पक्षले अन्य थप जानकारी सीमा क्षेत्रमा गराएको छैन्।सिन्धुपाल्चोकतर्फको तातोपानी नाका पहिरो र भुकम्पले भत्किएपछि तीन वर्षदेखि प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित रसुवागढीमा व्यापारिक चहलपहल बढ्दै गएको छ। रसुवागढी काठमाडौवाट एकसय ५२ किलोमिटर दुरीमा उत्तर भोटेकोशी नदी किनारामा रहेको छ ।
चीनिया सुरक्षा अधिकारीको अनुरोधलाई मध्यनजर गर्दै रसुवागढीमा आवश्यक सुरक्षा स्थिति बजबुत पारिएको रसुवा प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले जानकारी दिए । दैनिक ट्रक, कन्टेनर गुड्ने, सडकको अवस्था साँघुरो भए पनि ट्राफिक व्यवस्थापनलाई समेत क्रमशः समाधान गर्दै लगिएको बताइएको छ ।
सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीको अलावा सशस्त्र प्रहरीसमेत तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । चीनमा हुन लागेको राष्ट्रिय कार्यक्रम तथा नेपालमा घोषित आगामी निर्वाचनलाई लक्ष्यित गरेर रसुवागढी नाकामा कडाई गरि आवतजावत बन्द गरिएको हो ।












प्रतिक्रिया