३१ आश्विन २०८३, शनिबार

क्यान्सर अस्पतालमा लागेको ताला खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २६ कात्तिक । चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीले गरेको आन्दोलन एक महिनापछि टुङ्गिएको छ ।

कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएपछि अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा लगाइएको तालासमेत आजबाट खुलाइएको छ ।

अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्ने, राजनीति गर्न नहुनेलगायत आठबुँदे माग राखेर उनीहरु गएको असोज २९ गतेदेखि आन्दोलित थिए ।

चरणबद्ध आन्दोलन घोषणा गर्दै कर्मचारीले धर्ना र तालाबन्दी गर्दै आएका थिए । राति अबेर भएको वार्तामा सहमति निस्किएपछि सबै आन्दोलन फिर्ता भएको काँग्रेस निकट स्वास्थ्यकर्मी सङ्घका प्रतिनिधि रमेश शर्मा पौडेलले बताउनुभयो ।

सरकारले बढाएको तलब भत्ता अस्पतालले कर्मचारीलाई दिनुपर्ने, अस्पतालका कर्मचारी र कार्यकारी निर्देशकबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, प्रशासनमा सरुवा भएका प्राविधिक सेवाका कर्मचारीको सरुवा खारेज गर्नुपर्नेसहितका माग कर्मचारीले राखेका थिए ।

कर्मचारीको सेवासुविधा बढाउने, कर्मचारीको व्यवस्थापन गर्ने, बिग्रिएका उपकरण मर्मत गरी सञ्चालन गर्नेलगायत २१ बुँदे सहमति भएको पौडेलले जानकारी दिनुभयो ।

अस्पतालमा पटक–पटक विभिन्न खालका आन्दोलन हुँदा बिरामी तथा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । तालाबन्दीका कारण रोकिएका प्रशासनिक कार्यसमेत सुरु भएको अस्पतालले जनाएको छ । रासस