रोल्पा, २६ कात्तिक । चारदिने जिल्ला भ्रमणका लागि भन्दै सोमबार जनयुद्धको उद्गमस्थल मानिएको रोल्पा प्रवेश गर्नुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न ऐतिहासिक गाउँघरमा पुगी भेटघाटलाई तीव्रता दिनुभएको छ ।
डाँडागाउँस्थित पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को घरमा रात बिताउनुभएका दाहाल बुधबार राङ्सीमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।
राङ्सीकोे कार्यक्रम पश्चात् दाहालसहितको टोली बुधबार नै नेता वर्षमान पुनको गाउँ जङ्कोट माडिचौरमा बास बसी बिहीबार बिहान सदरमुकाम लिबाङ आउने बताइएको छ ।
यसअघि, माओवादीले युद्ध घोषणा गरेको रोल्पाको होलेरीबाट सोमबार भ्रमण आरम्भ गर्नुभएका दाहालले जनयुद्धकालमा आफू बसेको पाखापखेरा तथा युद्धकालीन ऐतिहासिक स्थानमा पुग्दै औपचारिक र अनौपचारिक भलाकुसारी गरिरहनु भएको छ ।
भ्रमणका क्रममा मङ्गलबार बिहान होलेरीका स्थानीय जनतासँग भेटघाट गरेलगत्तै नुवागाउँ र गैरीगाउँको टिलाका जनतासँग भेटघाट गर्दै युद्धकालीन अवस्थामा पार्टीको हेडक्वार्टर राखिएको घर्तीगाउँ, लोसेबाङलगायतका विभिन्न स्थानमा स्थानीयसँग भेटघाट गर्नुभएको थियो ।
भ्रमणका क्रममा विभिन्न गाउँका रोल्पाली जनतालाई भेट्दै आफूले रोल्पाली जनता र यहाँको भूमिलाई कहिल्यै नभुलेको बताउँदै यहाँका जनताको बलिदानलाई खेर जान नदिने आश्वासन दिनुभएको छ ।
आफू रोल्पाली जनताको मनोेभाव बुझ्न आएको बताउँदै रोल्पाली जनता र जनयुद्धकालका घाइते अपाङ्ग तथा सहिद परिवारको सपना कहिल्यै नभुल्ने बताउनुभयो ।
मङ्गलबार राङ्सीमको डाँडागाउँ पुग्नुभएका दाहालले रासीमा जनयुद्धकालीन समयमा आफू बसेको घर तथा सुरक्षाका लागि बनाइएका बंकरको अवलोकन गर्नुभएको थियो । रासस















प्रतिक्रिया