काठमाडौं, ३१ असोज । व्यापारीक प्रयोजनका लागि स्थापना भएको नेशनल ट्रेडिङ्गले सोचे अनुरूप काम गर्न नसक्दा बन्द भएको छ । बन्द भइसकेको संस्थालाई अहिले पनि केही कर्मचारीहरूले भने दुहुनो गाई बनाइरहेका छन् ।
ट्रेडिङ्गका केही कर्मचारीहरू ‘बनबाट आए बान्दिने, थुनबाट आए तान्दिने’ भनेझै आए खाने नआए पनि परिश्रम भने नगर्ने अभियानमा लागेपछि स्वेच्छिक अवकाश लिएका कर्मचारीहरू भने रूष्ट बनेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
घाटै घाटामा सञ्चालन हुँदै आएको ट्रेडिङका कर्मचारीहरूलाई संस्था भित्रकै केही वरिष्ठ कर्मचारीहरूले संस्था बन्द हुने भन्दै स्वेच्छिक अवकाश दिन लगाएका थिए । तर, अहिले पनि ट्रेडिङ्गका अध्यक्ष र महाप्रवन्धकको मिलेमतोमा ३६ जना आफ्ना पकडका कर्माचारीलाई करारमा भन्दै राखेर तलब खुवाइरहेका छन् ।
ट्रेडिङ्ग सञ्चालक समितिका अध्यक्ष रहेका आपूर्ती मन्त्रालयका सह–सचिव मुकुन्दप्रसाद पौडेल र महाप्रबन्धक उप–सचिव लवराज जोशीले बन्द भइसकेको संस्थामा स्वेच्छिक अवकाश लिइसकेका कर्मचारीहरूलाई करारमा राखेर भ्रष्टाचार गरिरहेको पूर्व कर्मचारीहरूको आरोप छ ।
सम्पूर्ण कर्मचारीले स्वेच्छिक अवकाश लिइसकेको अवस्थामा संस्था स्वतः बन्द हुनुपर्नेमा कहिले कर्मचारीलाई खुवाउन तलव भएन त कहिले बुझबुझारथको नाममा करारमा कर्मचारीहरू राखेर जोशी र पौडेलले उल्टै संस्था बन्द गराउनु हुँदैन भन्दै नयाँ बखेडा झिकेका छन् ।
कर्मचारीहरूले स्वेच्छिक अवकाश दिएपछि उनीहरूलाई दिनुपर्ने रकम जुटाउन टे«डिङ्गले केन्द्रिय कार्यालय रहेको टेकुको ५० रोपनी पाँच आना जग्गा नेपाल आयल निगमलाई सेटिङमा सस्तोमा विक्री गरेको थियो ।
जेठ ४ गते बसेको मन्त्रीपरिषद् बैठकले सम्पूर्ण कर्मचारीहरूको स्वेच्छिक अवकाशको निर्णयलाई स्वीकृत गरेको थियो । जेठ ४ गते नै स्वेच्छिक अवकाशको निर्णय भएपनि संस्थासँग रकम नभएको भन्दै ट्रेडिङ्गले सम्पूर्ण कर्मचारीहरूलाई दुई पटकसम्म गरेर असार १५ सम्म करार भन्दै म्याद थप गरेके थियो । आयल निगमबाट रकम आएपछि सम्पूर्ण कर्मचारीहरूलाई रकम बाँडिएको थियो ।
तर, जोशी र पौडेलकै मिलेमतोमा ट्रेडिङ्गमा कार्यरत ५१ जना कर्मचारीलाई करारमा राखेर भ्रष्टाचार गरिरहेको पूर्व कर्मचारीहरू बताउँछन् । यस विषयमा ट्रेडिङ्गको आधिकारिक ट्रेड यूनियनका अध्यक्ष राजु रानाभाटसँग सम्पर्क गर्दा उनले भने–‘हामीलाई बाध्य बनाएर स्वेच्छिक अवकाश दिन लगाइयो । तर, जोशी र पौडेलले भने आफ्ना मान्छेहरूलाई अहिलेसम्म पनि करारमा राखेर तलव खुवाइरहेका छन् । कि त हामीलाई पनि करारमा राख्नुप-यो, कि त सबैलाई घर पठाउनु पट्रेयो ।’
ट्रेडिङ्गमा रहेका २६४ जना कर्मचारीमध्ये हाल करारमा राखिएका ३६ जना कसरी योग्य र अन्य चाहिं कसरी अयोग्य भए ?’, रानाभाट प्रश्न गर्छन् ।
करारमा राखिएका ५१ जना कर्मचारीमध्ये १५ जनासँग कुरा नमिलेपछि उनीहरूलाई घर पठाइएको छ भने ३६ जनाको मात्र कात्तिकसम्म म्याद थप गरिएको स्रोत बताउँछ ।
कर्मचारीहरूले स्वेच्छिक अवकाश लिएको र टेकुमा भएको जग्गा पनि आयल निगमलाई विक्री गरेपछि नेशनल ट्रेडिङ्गको सम्पूर्ण काम बन्द भइसकेको छ । तर, रामशाहपथमा रहेको डिउटी फ्रि सप भने अहिले पनि सञ्चालनमा नै छ । सोहि पसललाई आधार बनाएर जोशी र पौडेलले भ्रष्टाचार गरिरहेका छन् ।
उक्त डिउटी फ्रि सपमा झण्डै चार करोड बराबरको सामान रहेको छ । स्टक लेजरमा मनग्गे सामान रहेको देखिए पनि ट्रेडिङ्गको गोदममा भने अधिकांश सामान भेटिदैन । यस विषयमा आपूर्ति मन्त्रालयले छानविनको तयारी गरिरहेको छ ।
ट्रेडिङ्गमा भएको भ्रष्टाचार र विभिन्न बहाना बनाएर कर्मचारीहरूलाई स्वेच्छिक अवकाश दिन बाध्य बनाइएको विषयमा आपूर्ति मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परिसकेको छ ।
साउन १२ मा नै अख्तियारमा दर्ता भएको यस उजुरीप्रति आयोगले भित्रि छानविन शुरू गरिसकेको छ भने मन्त्रालयले पनि छानविनको तयारी गरेको छ ।
ट्रेडिङ्गले आयल निगमलाई तीन अर्व २५ करोड रूपैयाँमा जग्गा विक्री गरेर कर्मचारीहरूलाई एक अर्व ६६ करोड रूपैयाँ बाँडिसकेको छ । बाँकी एक अर्व ५९ करोड रूपैयाँको विषयमा अझै पनि छानविन गर्ने हो भने दुधको दुध पानिको पानी छुट्टिने प्रष्ट छ ।












प्रतिक्रिया