काठमाडौँ, २५ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनको व्यवस्थापन, आर्थिक, सुरक्षालगायत तयारीका विषयमा मंगलबार सम्मेलनको मूल तयारी समितिमा समीक्षा भएको छ ।
मूल समितिका संयोजक तथा प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा तयारीका लागि अधिकांश कार्य पूरा भएको विवरण दिइएको र बाँकी कार्य यही मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता सम्बन्धित मन्त्रालयले गरेका छन् ।
बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सम्मेलनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको र कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सम्मेलनका लागि तम्तयार अवस्थामा छौ’, गौतमले भन्नुभयो ।
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बैठकमा काठमाडौँको सौन्दर्यीकरणलगायत हालसम्मका कामको समीक्षा भएको र बाँकी कार्य यही मसान्तभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो ।
उहाँले सबै सदस्य मुलुक र पर्यवेक्षकलाई निमन्त्रणा पुगिसकेको र सहभागिता निश्चित भइसकेको जनाउँदै आवश्यक दस्तावेजको तयारी पनि पूरा भएको बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा ऊर्जा, रेल–वे र यातायातसम्बन्धी तीन अलग–अलग सम्झौता हुनेछन् । यस्तै काठमाडौँ–नयाँदिल्ली यातायात सञ्चालनका लागि नेपाल र भारतबीच सम्झौता हुने जानकारी पनि मन्त्री पाण्डेले दिनुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट पाहुनाले नेपालका कतिपय धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रमबाट आफूहरू उत्साहित भएको र यसले नेपालको पर्यटन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया