३१ आश्विन २०८३, शनिबार

एमाओवादीले धम्कीको भाषा बन्द नगरे चुप लागेर बस्दैनौँः रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौँ, २४ कात्तिक ।  नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाओवादी सहितका २२ दलीय मोर्चाले विभिन्न ठाउँमा सभा गरेर धम्कीपूर्ण रुपमा चेतावनी दिएको भन्दै त्यसको विरोध गर्नु भएको छ ।

सोमबार राजधानीमा आयोजित अन्तरक्रियामा उहाँले एमाओवादीलाई तत्काल धम्कीको भाषा बन्द गरी वार्ता तथा सहमतिमा आउन समेत आह्वान गर्नुभयो ।  ‘अब धम्की दिएर जनता डराउनेवाला छैनन्, हामी यसरी अब निरिह भएर टुलुटुल हेरेर बस्दैनौं’ रावलले भन्नुभयो ।

सहमती पनि नगर्ने अनि प्रक्रियामा जान डराउने एमाओवादीसहितको मोर्चाको गतिविधि हेर्दा आफूहरुलाई फेरि पनि २०६९ जेठ १४ गतेको पुनरावृत्ति हुने आभाष भएको रावलले तर्क गर्नुभयो ।
रावलले आफूहरुले प्रस्तुत गरेको ७ प्रदेशसहितको प्रस्ताववारे संघियतामा ७ प्रदेशभन्दा माथि कुनै हालतमा जान नसकिने पनि स्पष्ट पार्नुभयो ।

नेपाली काग्रेसका नेता गोपालमान  श्रेष्ठले माघ ८ गतेभित्रै संविधान जारी गर्ने सर्तमा आफूहरु ८ प्रदेशमा जान समेत तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सहमति गर्नु पर्ने बेलामा मुठभेड निम्त्याउनु उचित नभएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले मुठभेड भित्राउन निहुँ खोजिरहेको आरोप समेत लगाउनुभयो ।
श्रेष्ठले चैत मसान्तसम्ममा भएपनि संविधान जारी गर्नु पर्नेमा जोड दिनुभयो ।

एमाओवादी नेता शक्ति बस्नेतले काँग्रेस र एमाले सहमतिबाट पछि हटेर संविधान निर्माणमा बाधक बनेको आरोप लगाउँदै आफूहरुलाई काँग्रेस र एमाले पश्चगमन तिर फर्केका हुन कि भन्नेमा आशंका उत्पन्न भएको दाबी गर्नुभयो ।

संविधान कुनै पार्टीको घोषणा पत्र लेखन जस्तो नभएको तर्क गर्दै  काँग्रेस–एमालेको प्रस्ताव संविधानसभामा पठाउन नसकिने र पठाउन पनि नदिने चेतावनी दिनुभयो ।

संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले काँग्रेस–एमालेलाई दुई तिहाई बहुमतबाट संविधान जारी गरेर देखाउन चुनौति दिनुभयो ।