काठमाडौं, २३ असोज । निर्वाचन आयोगले भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितको भूमिसुधार तथा व्यवस्थापन विभागको महानिर्देशक परिवर्तन गर्ने योजना चकनाचुर पारिदिएको छ ।
विभागका महानिर्देशक टीकाराम घिमिरेको दशैँ समेत आतंकपूर्ण तरिकाले बित्यो । साँघु साप्ताहिकले समाचार छापेको छ ।
महानिर्देशक घिमिरेलाई मन्त्रालयमा तानेर मुक्ति आचार्यलाई महानिर्देशक बनाउनका लागि मन्त्री दहितले निर्वाचन आयोग र सामान्य प्रशासन मन्त्रालय दुबैतिर सहमति मागेका थिए ।
भूमिसुधार सचिव शम्भु कोइराला चीन भ्रमणमा गएको समयमा असोज पहिलो साता निमित्त सचिव शंकर थापामार्फत सहमति माग गरेका दहितले प्रस्तावलाई आयोग र सामान्य दुबैले सहमति नदिएपछि मन्त्रीको महानिर्देशक परिवर्तन गरी जाँदाजाँदै चुनाव खर्च जोहो गर्ने योजना तुहिएको छ ।
सचिव कोइराला र महानिर्देशक घिमिरे नाता पर्ने भएकाले मन्त्री दहितले विदेश गएको मौका छोपी निमित्त सचिवबाट सहमतिका लागि प्रस्ताव पठाएका थिए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाका निकटका सचिव कोइरालाले स्वदेश फर्किनासाथ उक्त प्रस्ताव निस्तेज पारिदिएका छन् ।
ठ्याक्क कर्मचारी सरुवाको मुखमा आफ्नो सरुवा हुने सुइँको पाएपछि स्वयं महानिर्देशक घिमिरेले पनि दशैँको विदामा समेत मनभरि आतंक बोकेर निर्वाचन आयोग र सामान्य दुबैतिर पहुँच प्रयोग गरी सहमति रोक्ने काम गरेको चर्चा छ ।
मुक्ति आचार्यबाट मन्त्री दहितले आकर्षक कमिसनको प्रस्ताव आएपछि मन्त्री दहित महानिर्देशक फेर्ने चक्करमा लागेका थिए ।












प्रतिक्रिया