५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री कोइरालासँग अमेरिकी सहायक मन्त्रीको भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sewall_Sarah_dainiknepal

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री सुशील कोइराला र नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री डा सराह सेवालबीच भेटवार्ता भएको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध, आर्थिक सहयोग, नेपालको संविधान निर्माण र क्षेत्रीय तथा विश्व मामलाका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले आफूले संयुक्त राष्ट्र संघको ६९औँ महासभाका अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपमन्त्री विन्डी शेरमनसँग भएको सुखद् भेटलाई स्मरण गर्दै आधा शताब्दीभन्दा लामो नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको चर्चा गर्नुभएको थियो ।

उहाँले नेपालमा प्रजातन्त्रको स्थापनामा अमेरिकाले दिएको नैतिक समर्थन र आर्थिक सामाजिक विकासमा दिएको निरन्तर आर्थिक सहयोगको सराहना गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले नेपाल अहिले जननिर्वाचित संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक मोडमा रहेकोले यसमा मित्रराष्ट्रहरूले नैतिक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री कोइरालाले विगतमा लडाकू समायोजन र हतियार ब्यवस्थापन जस्ता जटील कार्यहरू समेत नेपालका राजनीतिक दलहरूले आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको आधारमा सम्पन्न गरेकाले संविधान निर्माणका विवादित विषय पनि समाधान भएर निर्धारित मितिमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली जनताले ६० वर्षभन्दा बढीको त्यागले ल्याएको संघीयता र गणतन्त्रसहितको समावेशी लोकतन्त्रलाई संस्थागत गरेर विकासमा लाग्न अत्यावश्यक भएको कुरालाई सबै नेताहरूले आत्मसात् गरेको उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री कोइरालाले हालैको अमेरिका भ्रमणका समयमा राष्ट्रपति बाराक ओबामाले अध्यक्षता गर्नुभएको “सुरक्षा परिषद् सम्मेलन”मा सहभागी भएको र सुरक्षा परिषद्ले अनुमोदन गरेको विदेशी आतंककारी लडाकू विरुद्धको प्रस्तावमा नेपालको समर्थन रहेको स्मरण गराउनु भयो ।

प्रधानमन्त्री कोइरालाले नेपाल आइएसआइएससहित सबै स्वरूपका आतङ्कवादको विरुद्धमा रहेको बताउनुभयो ।

भेटमा अमेरिकी उपमन्त्री डा सेवालले नेपालले शरणार्थीको आश्रय र आतङ्कवादको विरुद्धमा लिएको नीतिको सराहना गर्नुभयो ।

उहाँले प्रजातन्त्रको स्थापना र विकासमा निष्ठापूर्वक लाग्नु भएका प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै संविधान आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

संविधान लेखनसहितको ऐतिहासिक सङ्क्रमणबाट गुज्रिरहेको अवस्थामा पनि नेपाल र भारतबीच विद्युत व्यापार संझौता र जलविद्युत आयोजना विकासका कम्पनीहरूसँग परियोजना विकास संझौता भएकोमा पनि उपमन्त्री डा सराहले खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपालको प्रजातन्त्रको संस्थागत विकासमा नैतिक, आर्थिक एवं भौतिक सहयोग गर्न अमेरिका सदैव तयार रहेको पनि बताउनुभयो ।

भेटमा अमेरिकी राजदूत पीटर डब्ल्यू बोडे र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईको पनि उपस्थिति थियो ।