५ कार्तिक २०८३, बिहिबार

चाबहिलको चारुमती बिहार घुम्ने श्रीलंकाली राष्ट्रपतिको चाहना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

charumati-stupa

श्याम रिमाल

काठमाडौँ, २३ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलनका अवसरमा श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्षले चाबहिलस्थित चारुमती विहारको पनि भ्रमण गर्नुहुने भएको छ ।

राष्ट्रपति राजपक्षले त्यहाँ पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम रहेको चारुमती बुद्धविहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । राष्ट्रपति भएपछि राजपक्ष दोस्रोपटक नेपाल आउँदै हुनुहुन्छ ।

मौर्यसम्राट् अशोककी छोरी चारुमतीले नेपालमा धर्मदूतिकाका रुपमा आई करिब दुई हजार तीन सय वर्षअघि निर्माण गरेको सो विहार श्रीलङ्का र नेपालको सम्बन्धको प्रतीक पनि हो । अशोककी अर्की छोरी सङ्घामित्रा र छोरा महेन्द्र पनि श्रीलङ्कामा धर्मदूतका रुपमा गएका थिए । “बौद्धमार्गी मुलुक श्रीलङ्का र त्यहाँका बौद्धमार्गीहरुmलाई चारुमती विहारबारे राम्रो जानकारी छ र यसलाई निकै सम्मानका साथ लिने गर्छन्”–श्रीलङ्काबाट विसं २०४० मा बौद्धधर्म र समाजशास्त्रमा स्नातक भिक्षु धम्मले भन्नुभयो ।

भिक्षु धम्मले नै विसं २०६०–६१ मा सो विहारको पुनःनिर्माणका लागि पहल गरी हाल सोही विहारमा बस्दै आउनुभएको छ । “श्रीलङ्काका नेपालस्थित हरेक राजदूतहरु चारुमती विहार आउनुभएको छ, यसबारे उहाँहरु सबैलाई अवगत छ, यसको इतिहास र यसको गुरुयोजनाबारे हामीले श्रीलङ्काली राष्ट्रपतिलाई पनि विस्तृत जानकारी गराउने छौँ”–चारुमती बुद्धिस्ट नेपालका संस्थापक अध्यक्ष तथा विश्व युवा भिक्षु महासङ्घका नेपाल अध्यक्ष धम्मले भन्नुभयो । सो विहारको पुनःनिर्माणमा श्रीलङ्काले पनि सहयोग गरेको थियो ।

गौतमबुद्धकै पालामा कपिलवस्तुका राजा शुद्धोदनका आफन्तहरु श्रीलङ्काको दक्षिण क्षेत्र रुहुनुमा गई बसेको श्रीलङ्काली महावंशमा उल्लिखित छ । पछि राणा प्रधानमन्त्री जुद्धशम्शेरका पालामा नेपालबाट निर्वासित भिक्षुहरु अमृतानन्द, सुबोधानन्द, प्रज्ञारश्मि, कुमार काश्यप, महानामलगायत आठजनामध्ये कोही भारत, तत्कालीन् बर्मा र श्रीलङ्का (अमृतानन्द) गएका थिए । पछि प्रधानमन्त्री पद्मशम्शेरका पालामा श्रीलङ्काबाट एक प्रतिनिधिमण्डल टोली नेपाल आई पुनःस्थापना गराएको थियो ।

विसं २०१४ असार १८ मा नेपाल श्रीलङ्का दौत्यसम्बन्ध कायम भएको थियो । लुम्बिनीमा लुम्बिनी विहार, अतिथिगृह आदि निर्माण भएका छन् । श्रीलङ्काका तत्कालीन राष्ट्रपति जयबद्र्धने, प्रेमदासा, श्रीमाओ बन्दरानायके र चन्द्रिका बन्दरानायके नेपाल आउनुभएको थियो । आनन्दकुटी विहारमा हुने विशेष समारोहमा श्रीलङ्काली राजदूतको सहभागिता हुने गरेको छ ।

चारुमती विहारको गुरुयोजनाअनुसार मर्मतसम्भार, पर्खाल र पोखरीको पुनःनिर्माणको काम छिट्टै सुरु हुँदैछ । राष्ट्रपति राजपक्षको आगमनलाई ध्यानमा राखी काठमाडौँ महानगरपालिकाले सोमबारदेखि विहार क्षेत्रमा रङ्रोगन गर्दैछ । रासस