५ कार्तिक २०८३, बिहिबार

नेपाललाई एमालेमा तेस्रो वरियता, बैठक एक महिना सर्‍यो (महासचिवको विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेले पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तेस्रो वरियतामा राखेको छ ।

एमाले मुख्यालय बल्खुमा शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले नेपाललाई पार्टीको तेस्रो वरियतामा राखेको हो । अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई तेस्रो वरियतामा राख्न प्रस्ताव गर्नुभएको थियो ।

अब वरियतामा अध्यक्ष केपी ओलीपछि वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल रहनुहुने बैठकपछि एमाले सचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसअघि कात्तिक १४ गतेको बैठकमा नेता नेपालले केन्द्रीय सदस्यको रोमा बसेर अध्यक्षको कार्यशैलीविरुद्ध सात बुँदे फरकमत राख्नुभएको थियो । शनिबारको बैठकमा भने अध्यक्ष ओलीको आग्रहमा नेता नेपाल पदाधिकारीहरुको रोमा बस्नुभएको थियो ।

बैठकमा नेता नेपालले राख्नुभएको फरक मतका विषयमा पनि कुनै छलफल नभएको सचिव गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, एमाले बैठक मंसिर २२ गतेसम्मका लागि सरेको छ । एमालेको यस बैठकले कार्यविभाजन गर्ने भनिएपनि हुन सकेन ।

बैठकपछि पार्टी महासचिव ईश्वर पोखरेलबाट जारी विज्ञप्ति जस्ताको तस्तैः


कार्तिक २२, २०७१

प्रेस वक्तव्य

यही कार्तिक १४ गतेबाट सुरु भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, मदननगर, बल्खुमा आज पनि जारी रह्यो । बैठकलाई संवोधन गर्दै अध्यक्ष कमरेड ओलीले नेकपा (एमाले) माघ ८ गतेभित्र संविधान जारी गर्न कृतसंकल्पित रहेको र यसका लागि पार्टी सबै पक्षसँग सहमति निर्माणका लागि निरन्तर प्रयत्नशील रहेको जानकारी गराउनुभयो । सकभर पूर्ण सहमतिका साथ, त्यसो हुन नसके पर्याप्त बहुमत र अधिकतम पक्षको सहमतिका आधारमा संविधान जारी हुने बताउँदै उहाँले निर्धारित समयभित्र संविधान जारी हुन सकेन भने मुलुकको राजनीति अर्कै बाटोमा अगाडि बढ्न सक्ने खतराप्रति सजग हुन सबै पक्ष गम्भीर र संवेदनशील हुन आग्रह गर्नुभयो । मुलुकलाई एकथान संविधान होइन, राष्ट्रिय एकता सुदृढ गर्ने, लोकतन्त्रलाई दिगो गर्ने र सबै नेपालीलाई समान अधिकार, समान अवसर, समान सुरक्षा र समान सम्मानको ग्यारेण्टी गर्ने संविधान चाहिएको र संविधानले सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि आधुनिकीकरणको बाटो खोल्नु पर्ने बताउनुभयो । सकभर सहमतिका साथ संविधान जारी गर्ने, असहमति कायम रहे पनि तिनीहरु लोकतान्त्रिक विधि र प्रक्रियाबाटै अभिव्यक्त हुने र कुनै पनि अवस्थामा मुलुक अराजकता, विद्वेष द्वन्द्वतिर नजाओस् भन्ने कुराको सुनिश्चितता गरिनु पर्ने कुरामा उहाँले विशेष जोड दिनुभयो । संविधानका सम्बन्धमा सहमति पनि हुन नदिने, सहमति नभएको अवस्थामा प्रक्रिया पनि सुरु हुन नदिने र उल्टै एमाले लगायतका दलहरुलाई संविधान बन्न नदिने शक्ति भन्दै आक्षेप लगाएर सडकमा मोर्चाबन्दी गर्दै हिड्ने एमाओवादी लगायतका पक्षको गलत प्रवृत्तिलाई सबैतिर आलोचना र खण्डन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । नेकपा (एमाले), नेपाली कांग्रेस लगायत दलले प्रस्तुत गरेको प्रस्तावले अमूर्त छलफलको अमूर्त र अनन्त शृङ्खलालाई तोड्दै मूर्त, ठोस र व्यवहारिक रुपमा वार्ता अगाडि बढाउने आधार सिर्जना गरेको र यसले अन्य दललाई सहमतिमा आउन दबाब सिर्जना गरेको र माघ ८ गते संविधान जारी गर्ने भरपर्दो आधारशीला निर्माण गरेको जानकारी गराउनुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष कमरेड भीम रावलले विभिन्न दलसँग भएको वार्ता र संवाद समितिमा प्रस्तुत गरिएको अवधारणाबारे बैठकलाई जानकारी गराउनुभयो ।
निर्धारित समयमा संविधान जारी गर्न पार्टीले अधिकतम पहल, सघन प्रयत्न र निर्णायक भूमिका खेल्नुपर्ने भएकाले यसबीचमा पार्टीको सम्पूर्ण उर्जा त्यस प्रयोजनका लागि प्रयोग गर्न बैठक आगामी मंसिर २२ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

ईश्वर पोखरेल

महासचिव