प्यूठान, २ असोज । प्यूठान जिल्लाकी १३ वर्षीया बालिकालाई २८ वर्षीय पुरुषसंग विवाह गराईएको मुद्दालाई पैसामा मिलाउन खोजिएको भन्दै ‘नेकपा’ निकट अखिल (क्रान्तिकारी)ले बालविवाह विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
खलंगास्थित पार्टी चोकमा आयोजित प्रदर्शनमा विद्यार्थीले बालविवाहविरुद्ध नारावाजी गरेका थिए ।
माण्डवि गाउँपालिका– १ कि १३ वर्षीया बालिकालाई विवाह गराईएको मुद्दामा जिल्ला प्रहरी कार्यालय प्यूठानमा पुगे पनि त्यहाँबाट फिर्ता लिएर १ लाख ५० हजारमा लिएर मिलाउन खोजेको क्रान्तिकारीको आरोप छ ।
‘वावुआमा विहीन बालिकालाई ललाई–फकाई विवाह गराईएको छ’, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष यांक पुनले भने, ‘बालविवाह रोक्ने भनेर करोडौ खर्चने तर, बालविवाहकै मुद्दा पैसामा मिलाउने घटनामा मिलोमतो गर्ने र मौन समर्थन गर्ने जो कोहीलाई सडकमा ल्याएर कारवाही गर्छौं ।’
१३ वर्षीया बालिकाका वुवाको मृत्यु भएको र आमाले दोश्रो विवाह गरेकाले फुपुको घरमा वस्दै आएकि थिइन । गाउँलेले ललाई फकाई उनको विवाह गरिदिएको बालिकाकि फुपुले बताइन । जेठ २ गते बालिकाको विवाह गराइएको थियो ।
अर्को विकल्प नहुञ्जेलका लागि बालिकाको पठनपाठनको जिम्मा नेकपा निकट अखिल क्रान्तिकारीले लिने भएको छ ।
कक्षा ६ मा अध्ययनरत बालिका विद्यालय जानै छाडेकि छिन् । गाउँका सवैले विवाहको विषयलाई जोडेर गिज्याउने हुँदा उनी गाउँमै हिँडडुल गर्न समेत असहज अवस्था रहेको छ ।













प्रतिक्रिया