२१ कार्तिक २०८३, शनिबार

हिमन्ता आचार्यका दुवै मृगौला फेल भएपछि…

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ३० भदौ । मृगौलापीडित हिमन्ता आचार्य यतिबेला जीवनमरणको दोसाँधमा छिन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उनी उपचारमै दौडधुप गर्दैछिन् ।

उमेरले भर्खर १९ मा पाइला टेकेकी हिमन्ता अहिले कक्षा ९ पास गरेर १० मा भर्ना भएकी छन् । तर कलिलै उमेरमा दुवै मृगौला खराब भएपछि उनी चार महिनादेखि स्कूलै जान छाडेकी छन् । उपचारका लागि कहिले काठमाडौं त कहिले बुटवल गर्दा गर्दै स्कूलै जान नपाएको उनी बताउँछिन् । शितगंगा नगरपालिका ६, दाङसिङ (साविक जुकेना गाविस ८) अर्घाखाँचीकी हिमन्ता यतिबेला कपिलवस्तुको चन्द्रौटास्थित हजुरबुवाकहाँ बसेर उपचार गराउँदै आएकी छन् ।

बुवा अम्मर प्रसाद आचार्य र आमा सीता आचार्यको कोखबाट जन्मिएकी हिमन्ता विगत ७ वर्षदेखि विरामी छिन् । अर्घाखाँचीको शिवदह मावि जुकेना जलुके कक्षा १० मा पुगेकी हिमन्ता विरामी परेपनि कक्षा ९ सम्म त विद्यालय गइन् तर गत जेठदेखि भने उनी विद्यालय नगएको बताउँछिन् । विरामी पर्दा शुरुमा काठमाडौं, भारत लगायतका विभिन्न अस्पतालमा धाएको उनी बताउँछिन् । तर ७ वर्षसम्म पनि डाक्टरले रोग नै पत्ता लगाउन नसकेको उनको भनाई छ । गत जेठमा काठमाडौं उपचारका क्रममा मात्र उनको दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको आफन्तले जानकारी दिए ।

“निम्न परिवारकी हिमन्ताको उपचारमै भएको सबै सम्पत्ति रित्तियो” आफन्तले चिन्तित हुँदै भने– “समयमा रोग पत्ता नलाग्दा पाउनु दुःख पाइयो । रोग पत्ता लागेपछि अहिले हप्तामा दुई पटक मृगौलाको डाइनोसिस गर्नुपर्ने, कहाँबाट रकम जोहो गर्नु,” परिवारलाई रकम जुटाउनकै चिन्ता छ । यसअघि काठमाडौंमा डाइनोसिस गर्दै आएकी हिमन्ता अहिले भने बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाइनोसिस गराउँदै आएकी छन् ।

शुरु शुरुमा आफ्नै घर अर्घाखाँचीबाटै उपचार गराउन जाने गरेको आफन्त बताउँछन् । घरबाट आउन जान निकै समस्या भएपछि चारमहिनादेखि उनी आफन्तकहाँ बसेर उपचार गराउँदै आएकी छन् । केही दिन बुटवल आफन्तकहाँ बसेर उपचार गराउँदै आएकोमा तीन सातादेखि उनी शिवराज नगरपालिका ५, चन्द्रौटास्थित हजुरवुवा पुस्करनाथ आचार्यसँग बस्दै आएकी छन् ।

“नातिनीको उपचार गराउँदा गराउँदै भएको सम्पत्ति पनि सकियो,” पुस्करनाथ भन्छन्– “नातिनीलाई सन्चो भइदिए हुन्थ्यो । अस्पतालले मृगौला प्रत्यारोपण गरेमा सन्चो हुन्छ भन्छ । तर उपचार गराउने रकम छैन विरामीलाई कसरी बचाउने होला ।” –हजुरबुवा गुनासो पोख्छन् ।

अहिले हिमन्ताका बुवाआमाका साथै हजुरबुवा समेत रकम कहाँबाट जुटाउने भन्ने चिन्तामा छन् । परिवारले चारैतिर हारगुहार समेत गर्दैछन् । घरको सम्पत्ति सकिएपछि ऋणधन गरेर पनि उपचार गराइयो । ऋणको बोझ थपिँदैछ तर अप्रेसन गर्दा लाग्ने रकम समेत जोहो गर्न नसकिएको हजुरबुवाको दुखेसो छ । थोपा थोपाले सागर भरिन्छ भनेझै थोरै धेरै सबैले सहयोग गरे त अप्रेसन गर्ने रकम जुट्ने थियो । आफन्तले सबैसँग सहयोगको अपेक्षा गरेका छन् । उनीहरुले खुला हृदयले विरामीको उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले आफन्तको मोबाइल नम्बर ९८४७१६४६२१ तथा ९८१२४७१५१७ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।