– प्रदीप परियार
झापा, २९ भदौ । पहिलो महिला रिक्सा चालक फुलमाया धिमाल(रिक्सावाली)लाई दैनिक जीवन चलाउन समस्या भएको छ । रिक्सा चलाइरहेकी धिमाललाई इ–रिक्सा आएसँगै आर्थिक संकट परेको बताएकी छन् ।
इ–रिक्साले पुरानो रिक्सालाई विस्थापन गरेसँगै फुलमायाको जीवनबाट रिक्सासँगको दैनिकि सँधैका लागि अन्त्य भएको छ । रिक्सा चलाएर दैनिकि धान्ने धिमाल यतिबेला १०/२० रुपैयाँ संकलन गरेर जिविकोपार्जन गरिरहेकी छन् । उनलाई चिन्ने पुराना साथीहरुले सहयोग गरिरहेको उनले बताइन् । विर्तामोड उत्तर मानन्धर चौक पश्चिम अर्जुनधारा–६ मा बस्दै आएकी धिमालको दिनचर्या कष्टकर भएको छ । उनलाई हातमुख जोर्न भन्दा पनि औषधि उपचार गर्न समस्या भएको बताएकी छिन् । वि.स.२०५३ साल फागुन २ गतेदेखि रिक्सा चलाएर चर्चा कमाएकी धिमाललाई मंगलबार विहान घरको पिडिमा सुतेरहेको अवस्थामा भेटियो ।
शरिरमा शक्ति हुञ्जेल रिक्सा चलाए–फुलमाया भन्छिन्, अहिले हिडडुल गर्न पनि सक्दिन । ६३ वर्षीया फुलमायाको शरिर अत्यन्तै कमजोर बन्दै गएको छ । शरिर दिनहुँ चाउरिए पनि उनको बोली शसक्त छ । रिक्सा कुदाएर दुइ दशक विताएकी धिमाललाई पहिलो महिला रिक्सा चालक भन्दै विभिन्न देशको भ्रमण समेत गराइएको छ । विर्तामोडदेखि शनिश्चरे दुई जना पुर्याएको ५० पैसा पाइन्थ्यो,उनले भनिन्– त्यो बेला पनि जीवन चलेको थियो, अहिले समस्या छ ।
केहि समययता रिक्सा चलाउन छोडेकी धिमालको राज्यसँय धेरै गुनासो रहेको सुनाउछिन् । उनले आफुलाई सबैले भुल्दै गएकोमा दुःख व्यक्त गरेकी छन् । रिक्सा चालक भएपछि उनको चर्चा देश बाहिर पनि भएको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगै दुइ महिना अमेरिका,अष्ट्रेलिया,बु्रनाइ र इराकको भ्रमण गर्ने अवसर पाएकी फुलमायाले राजा विरेन्द्रको भेटसमेत गरेकी छन् । उनलाई विदेश भ्रमणका क्रममा धेरैले आर्थिक सहयोग गरेपनि भ्रमणमा रहेका अन्य सदस्यले हराएको भन्दै रकम नदिएको बताइन् ।
त्यो बेला उनलाई घर बनाइदिने, लाखौ रुपैया दिने भनिएपनि अहिले जीवन धान्न मुस्किल छ । फुलमाया धिमाललाई समाजले चिन्न सकेन । उनलाई देखाएर चर्चा कमाउनेहरु अहिले उनको दुःखमा टाढा भएका छन् ।
विर्तामोड देखि विराटनगरसम्म रिक्सा लिएर पुग्ने तागत भएकी फुलमायाको शरिरमा अब विहान बेलुकाको छाक टार्ने शक्ति पनि छैन ।
अर्जुनधारामा छोराको सहारामा बसेकी धिमाल नेतालाई जनताको कुनै मतलब नभएको सुनाउछिन् । उनले नेताले जनताको लागि काम गर्न नसकेको भन्दै आक्रोश पोखिन् ।
आर्थिक अवस्था समस्या भइरहेको बेला राज्यले दिने सुविधा समेत नपाएको खुलासा गरेकी छन् । उनले राज्यबाट प्राप्त गर्ने एकल महिला भत्ता नपाएको बताइन् । मलाई भत्ता दिलाउन मद्दत गरिदिनुहोस्–उनले भनिन् ।













प्रतिक्रिया