भीमदत्तनगर, २० कात्तिक । नेकपा एमाले दार्चुला जिल्ला अध्यक्ष रामदत्त जोशीका छोराले एक शिक्षकलाई कुटपिट गरी भिरबाट फालिदिएका छन् ।
अध्यक्ष जोशीका छोरा विक्रम जोशीको नेतृत्वको एक समूहले दार्चुलाको लेकम क्षेत्रमा लागेको जयपुर जात्रामा लटिनाथ उच्च माविका कम्प्युटर शिक्षक भुवन खत्रीलाई कुटपिट गरी नजिकै रहेको भिरमा फालेका हुन् ।
‘जात्रामा भुवनका बुबा हरिसिंह खत्रीले होटल थालेका थिए’, भुवनका छिमेकी महेशबहादुर पालले भन्नुभयो, ‘बुबा कुटेको थाहा पाएपछि घटनास्थल पुगेका भुवनमाथि आक्रमण भयो ।’
जिल्ला विकास समिति दार्चुलामा समेत कार्यरत रहेका विक्रम जोशीले भुवन खत्रीलाई कुटपिट गरी जात्रास्थल नजिकैको भिरबाट फालेका थिए । भिरमा खसालिएका भुवन डेढ किलोमिटर तल भेटिएका थिए ।
विक्रम जोशीलगायत केही युवकको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको भए पनि प्रहरीले घटनाका दोषीलाई कारबाही गर्न नमानेको घाइते खत्रीका आफन्तले बताएका छन् । ‘सुरुमा प्रहरीले मुद्दा दर्ता गर्न नै मानेन,‘ स्थानीयवासीले भने – व्यापक दबाबपछि मुद्दा दर्ता भए पनि उनीहरुलाई पक्राउ गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनामा संलग्न मोहन मिश्रलाई पक्राउ गरेको जनाएको छ । ‘घटनामा पाँच÷छजना संलग्न छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैन सिंह साउदले भन्नुभयो, ‘बाँकी फरार रहेकाहरुको खोजी हुँदैछ ।’ उहाँका अनुसार घटनामा संलग्न रहेकाहरु विरुद्ध मुद्दा दर्ता भइसकेको छ । रासस















प्रतिक्रिया