काठमाडौं, २४ भदौ । अल्जाइमर विस्मृति समाज नेपालको छैटौ साधारणसभाले डा गौरीशंकर लालदासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले उपाध्यक्षमा डा निदेष सापकोटा, महासचिवमा अधिवक्ता मनोहर उप्रेती, सचिवमा डा रचना शर्मा, कोषाध्यषमा प्रभातकिरण प्रधान चयन हुनुभएको छ ।
यस्तै कार्यकारी सदस्यमा दीपकबाबु अर्याल, डा रमेश कँडेल, विजया केसी, भोलमान श्रेष्ठ, अम्बिका केसी, एपसी मास्के, छत्र प्रधान, सावित्री थापा हुनुहुन्छ ।
नेपालमा अन्जाइमर(बिर्सने रोग) सम्बन्धी जनचेतना जगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यससम्बन्धी समन्वय गर्ने र सरकारलाई यस रोग सम्बन्धी सुझाव दिने, अनुसन्धान, औषधी उपचार, स्याहारकर्तालाई तालिम जस्ता काम समाजले गर्दै आएको छ ।
नेपालमा ७८ हजार भन्दा बढी बिर्सने रोगका बिरामी भएको व्श्वि स्वास्थ्य संगठनले अनुमान गरेको छ । समाजको साधारणसभामा आज वरिष्ठ कलाकार एवम् जेष्ठ नागरिक महासंघका उपाध्यक्ष तथा निर्वाचन समितिका प्रमुख मदनदास श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
यो रोग मतिस्कमा लाग्ने एउटा साझा रोग हो , जसले कतिपय उच्चस्तरीय मानसिक क्षमतामा साझा प्रकारको क्षय भएर व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भैरहेको गतिविधिप्रतिको जागरुपता, मनन, हिसाबकिताब नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा पनि ह्रास हुँदै जान्छ ।
बिर्सने रोग पीडित व्यक्ति मिति, समय, मौसमबारे ठीक प्रकारले जानकारी राख्न कठिनाइ महसुस गर्ने गर्छन । यस्तै कसै कसैलाई दृष्टिमा समस्या आउनु,अध्ययनमा समस्या हुनु, टाढा र नजिकको दूरी छुट्ट्याउन कठिनाइ हुने जस्ता समस्या पनि देखा पर्दछ ।
जानकारीमा आएको विषय समेत बिर्सेर दैनिक कार्य गर्न समेत समस्या पर्ने गरेको यस रोगलाई नजिकबाट नियालेका चिकित्सकको भनाइ छ ।
पाटन अस्पतालमा कार्यरत डा रमेश कँडेलकाअनुसार बिर्सने रोगको उपचार नेपालमा नै सम्भव छ । उहाँले स्मरण शक्तिमा ह्रास आउनुको कारण दैनिकीमा उतार चढाव आउनु हो, तर यो बुढेशकालको साधारण प्रक्रिया भने नभएको बताउनुभयो ।
बिर्सने रोग लागेकाहरुको निर्णय लिने क्षमतामा ह्रास आउँछ, विचार तथा व्यक्तित्वमा परिवर्तन आउने, सञ्चारमा समस्या हुने, समान हराउने कार्यालय र साथीमाझ माझ छिटो रिसाउने, झर्किने जस्ता समस्या आउने भएकाले समाजमा यो रोगको बारेमा जनचेतना जगाउनका लागि समाजले सातै प्रदेशमा चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको समाजका सञ्चार प्रमुख दीपकबाबु अर्यालले जानकारी दिनुभयो ।
सरकारले सो रोग लागेकालाई औषधी उपचारमा रु एक लाख बराबरको सहयोग गर्दै आएको छ । तर जनचेतनाको अभावमा हालसम्म यस खालको सुविधा लिने संख्या भने सात जना मात्रै रहेको सञ्चार प्रमुख अर्यालले बताउनुभयो ।
मुलुकभर विर अस्पताल, पाटन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भने बिरामीले सरकारी सुविधा पाउँछन् भने निजी क्षेत्रको ग्राण्डी अस्पतालमा पनि बिर्सने रोगको जाँच पड्ताल हुने गरेको छ ।
बिर्सने रोग निदानका लागि जनचेतना जगाउने लक्ष्यका साथ विश्वभर इन्टरनेशनल अज्लाइमर डिजिज(एडिआई)ले सेप्टेम्बर महिनाभर विभिन्न कार्यक्रमका साथ बिर्सने रोग दिवस मनाउँदै आएको छ । विश्वभर झण्डै पाँच करोड बिर्सने रोगका बिरामी रहेको एडिआईले जनाएको छ । रासस












प्रतिक्रिया