५ कार्तिक २०८३, बिहिबार

अब रानी पोखरीमा सङ्गीतको धुनअनुसारको पानीको फोहरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranipokhariकाठमाडौँ, १९ कात्तिक ।  आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनलाई लक्षित गरी रानीपोखरीमा साङ्गीतिक फोहरा (म्युजिकल फाउन्टेन) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

रानीपोखरीको चारै दिशामा फोहरा र बीचमा भने सङ्गीतको धुनअनुसार पानीको फोहरा अर्थात् साङ्गीतिक  फोहरा राख्ने योजना रहेको काठमाडौँ महानगरपालिकाका निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले बताउनुभयो।

सोहीअनुसार चार दिशामा फाउन्टेन निर्माण कार्य सकिइसकेको छ भने बीचमा राखिने साङ्गीतिक  फोहराका लागि भारतबाट आवश्यक सामग्री मगाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त फोहरा पहिले गीतअनुसार चल्ने भनिए पनि कस्तो गीत राख्ने भन्ने कुरा नमिलेपछि सङ्गीत मात्र राखिने निर्णय भएको उहाँको भनाइ छ। यसका लागि सङ्गीत संयोजन गर्ने काम भइरहेको छ।

रु साढे तीन करोडको लागतमा निर्माण गरिन लागेको सो फोहराको निर्माण कार्य यही महिनाको अन्तिमसम्ममा सम्पन्न भइसक्ने प्रमुख उपाध्यायले बताउनुभयो ।
मल्लकालीन राजा प्रताप मल्लले आफ्नी रानीका लागि सो पोखरी विसं १७२७ तिर निर्माण गरेकाले पोखरीको नाम नै रानीपोखरी रहन गएको भनाइ छ।

काठमाडौँको मुटुमा रहेको रानीपोखरी विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका कारण आकर्षणको केन्द्रबिन्दु रहँदै आएको छ। साङ्गीतिक फोहराको निर्माणपछि रानीपोखरीको आकर्षणमा ‘चार चाँद’लाग्नेमा कुनै शङ्का छैन। रासस