भक्तपुर, १६ कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले देशमा बहुदल आएपछि उद्योग धरासायी बन्दै गएको बताउनुभएको छ ।
मध्यपुरथिमीस्थित सिवर्ड कलेजले आइतबार आयोजना गरेको विद्यार्थी स्वागत एवम् बिदाइ कार्यक्रममा बोल्दै उहाँले देशमा बहुदल आएपछि उद्योगको क्षेत्र झन् धरासायी बनेको बताउनुभएको हो ।
देशमा बहुदल आएपछि शिक्षा, सञ्चार, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य विकास एवम् प्रगति भए पनि भएका उद्योग पनि बन्द हुने क्रम बहुदल आएपछि भएको उहाँको भनाइ थियो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘बहुदल आएपछि उद्योग धरासायी बन्दै गयो, बाँसबारी छाला जुत्ता उद्योगदेखि भृकुटी कागज हुँदै विराटनगर जुट मिलसमेत बन्द भए, यसको दोष त्यतिखेर सरकार चलाउनेले लिनुपर्छ ।’
औद्योगिक क्षेत्रका कैयौँ जग्गाहरू कौडीको भाउमा भाडामा दिएर दुरूपयोग गरिरहेको बताउँदै उहाँले बहुदल आएपछि उद्योगको क्षेत्रमा गौरव गर्ने ठाउँ नपाएको बताउनुभयो । बहुदल आएपछि धेरै समय नेपाली काँग्रेस र थोरै समय एमालेले सरकार चलाएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘बहुदल आएपछि काँग्रेसको भागमा कति प्रतिशत र एमालेको भागमा कति प्रतिशत दोष छ, हात उठाएर दुवै पार्टीले स्वीकार्नुपर्छ ।’
माओवादीले देश धरासायी बनाएको, उद्योगधन्दाको विकासमा बाधा पु¥याएको आरोप लगाउँदै उहाँले माओवादी जन्माउन पनि काँग्रेस, एमालेको कति प्रतिशत भूमिका छ, त्यसको समीक्षा हुनुपर्ने जिकिर गर्नुभयो ।
आफूले एक नेपाली एक–एक उत्पादनको अभियान चलाएको बताउँदै उहाँले भक्तपुर, मध्यपुरमै उत्पादन भएका सामग्रीहरू यहीँका बासिन्दाले प्रयोग गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिनुभयो । पुर्खौंदेखि गर्र्दै आएको परम्परागत पेसाको सम्मान गर्दै उनीहरूलाई सीप प्राप्त गरेको प्रमाणपत्र दिएर सम्मान गर्ने व्यवस्था गर्न लागेको बताउँदै उहाँले परम्परागत पेसालाई पनि शिक्षाकै पाटोका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
धेरै पछि भक्तपुरले मन्त्री पाएको चर्चा गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘भक्तपुरको विकासमा ज्यान दिएर लाग्नेछु, भक्तपुरको शीर सधैँ उच्च बनाउने छु, भक्तपुरका बासिन्दाको शीर निहुरिने काम म कहिल्यै गर्ने छैन ।’
त्यस अवसरमा उहाँले यस वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट नेपाल प्रथम हुने सङ्गीता प्रजापतिलाई सम्मान गर्नुभएको थियो भने सिवर्ड कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान एवम् पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, मध्यपुर नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, कलेजका अध्यक्ष शिवकृष्ण श्रेष्ठ, कलेजका प्राचार्य सुरेन्द्र प्रजापति, सञ्चालक श्यामकृष्ण मानन्धर, ज्ञानराम श्रेष्ठलगायतले भक्तपुर शिक्षामा निकै अगाडि बढेको चर्चा गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने आँैल्याउनुभयो ।
















प्रतिक्रिया