३१ आश्विन २०८३, शनिबार

किन भेटे प्रचण्डले ओलीलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli_prachanda

काठमाडौ, १६ कात्तिक । नेकपा एमालेसँगको सम्बन्धमा चिसोपना बढेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार बिहानै ओली निवास बालकोट पुगेका प्रचण्डले दलहरुवीच मुख्य विवादको विषय बनेको संघीयताको विषयमा छलफल गर्नुभएको थियो ।

प्रचण्डले सहमतिमै संविधान जारी गर्नुपर्ने भन्दै प्रदेशको संख्यामा केही लचक हुन आग्रह गर्नुभएको ओली निकट स्रोतले बतायो । आठ वा नौ प्रदेशसम्म आए सहमतिको सम्भावना रहेको प्रचण्डको भनाइ थियो ।

जवाफमा एमाले अध्यक्ष ओलीले धेरै प्रदेशमा गएर धान्न नसकिने भन्दै सात प्रदेश भन्दा बढी जान नसकिने बताउनुभयो । जातीय राज्यको कुरा गर्न छाडेर साझा पहिचानको मुद्दामा आए सहमति हुनसक्ने ओलीको सुझाव थियो ।

काँग्रेस र एमालेले यसअघि ६ प्रदेशको साझा अवधारणा ल्याएका थिए । एमाले अध्यक्ष ओली धेरै प्रदेश बनाउन नहुने पक्षमा हुनुहुन्छ ।

भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले असहमतिका विषयलाई कसरी सहमति बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

आगामी माघ ८ मै संविधान जारी गर्न एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहमत भएको प्रतिक्रिया दिँदै उहाँले सहमतिको बिन्दु खोज्न छलफल भएको बताउनुभयो ।

संविधान निर्माणका प्रक्रियामा भिन्न धारणा भएकाहरुलाई एकै ठाउँमा ल्याउने र सहमति गराउने उपाय खोज्न छलफल भएको जानकारी दिँदै ओलीले सहमतिबाटै अगाडि जाने कुरा भएको बताउनुभयो । सहमतिका विषयमा सबै पक्ष लचिलो हुनेबारेमा छलफल भएको जानकारी दिँदै ओलीले भन्नुभयो– ‘सहमतिको प्रयास जारी छ, यसका लागि सबै पक्ष लचिलो भएर जाने र सहमतिको बिन्दुमा पुग्ने भन्नेबारेमा कुराकानी भयो ।’

अब कसले कति लचिलो भएर सहमति खोज्ने हो भन्नेबारेमा पनि टुङ्गोमा नपुगेको बताउँदै उहाँले एउटाको कुरा अर्कोले मान्नै पर्छ भन्ने भन्दा पनि कसरी सहमति गर्ने भन्ने कुरामा छलफल भएको जानकारी दिनुभयो ।

संविधान निर्माणका विवादित विषयमा एमाओवादी लचिलो हुने लक्षण आफूले देखेको बताउँदै ओलीले छलफल र वार्ताबाटै निकास निकाल्ने पहल भइरहेको पनि बताउनुभयो ।

भेटपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने छोटो प्रतिक्रिया दिँदै सहमति खोज्ने प्रयास भइरहेको र त्यसैका लागि छलफलमा बसेको बताउनुभयो ।