३१ आश्विन २०८३, शनिबार

सार्कका पाहुनालाई धुलिखेलमा रिट्रिट, हेलिप्याड निर्माणका लागि मात्रै २४ लाख खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १५ कात्तिक । दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेल ल्याउने भएपछि यहाँ हेलिप्याड निर्माण कार्य सुरु भएको छ ।

केही दिनदेखि सुरु भएको हेलिप्याड निर्माणको सम्याउने काम सकिएको र पक्की बनाउने तयारी थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो हेलिप्याड बनाउन स्थानीय विकास मन्त्रालयले पछि भुक्तान गर्ने गरी रु २४ लाख खर्च लाग्ने अनुमान गरेको स्थानीय विकास अधिकारी प्रेम भट्टराईले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिका–१ स्थित डाँडामा हेलिकप्टर राख्न बन्न लागेका दुईवटा हेलिप्याड निर्माणको जिम्मेवारी खड्ग दल गण धुलिखेलले लिएको छ । शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेलस्थित द्वारिकाज हिमालयन सांग्रिला होटलमा आवास तथा दुईपक्षीय वार्ताको व्यवस्था मिलाएको छ ।

यसबाहेक, धुलिखेलमा सुरक्षा व्यवस्थालाई कडा बनाउन स्थानीय रूपमा बैठक भइरहेको र सुरक्षा रणनीति तय भएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी केदार न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि परराष्ट्र मन्त्रालयको नेतृत्वमा आएको टोलीले सुरक्षा संवेदनशीलताको विषयमा जानकारी लिइसकेको छ । शिखर सम्मेलन उद्घाटनपछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुईपक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ ।

सन् २००२ को ११औँ शिखर सम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन । आगामी मंसिरको १० र ११ गते १८औँ शिखर सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । रासस