बर्दिया, ३० साउन । बबई नदीमा आएको बाढीका कारण जब्दीघाटमा निर्मार्ण गरिएको पक्की पुल भत्किएको छ । आइतबार बबई नदीमा आएको भिषण बाढीले गर्दा यो पुल भात्किएको हो । यो पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोडेको थियो ।
जब्दीघाट पुल नेपाल सरकारको १६ करोड ६८ लाख ४ हजार रुपैँयाको लागतमा निर्माण गरिएको थियो । संचालनमा आएको वर्षदिन नपुग्दै पुल भत्किएको छ । पुल बिचको भागबाट भत्किएको छ । पुल निमार्ण सम्पन्न भए लगत्तै संचालनमा आएपनि औपचारिक उद्घाटन भएको थिएन । जब्दीघाट पुल निर्माणकै क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरी निर्माण गरिएको तथा गलत ठाँउमा निर्माण गरिएकोले बालुवा थिंग्रिएको भन्दै स्थानीयवासीवाट चर्को विरोध हुँदै आएको थियो ।
निर्माण कम्पनी पप्पु कन्ट्रक्सनले २०६८ असार २५ देखि निर्माण शुरु गरेको थियो । निमार्ण अवधी भन्दा डेढ बर्ष ढिलो गरि पुल निमार्ण सम्पन्न भएको थियो । ठेकेदारको लापरवाहीका कारण पुल जोखिममा परेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर यसको सुनुवाई कतैबाट पनि भएको थिएन ।
बर्दिया सदरमुकाम गुलरियावाट ४ किलोमिटर उत्तरतर्फ निर्माणा गरिएको जब्दीघाट पुलको लम्वाई ४ सय ३५ मिटर र चौडाई ७.४ मिटर डबल लेनको फुटपाथ समेत रहेको छ । पुल भत्किएपछि यहाँ आवागमन ठप्प भएको छ । यो पुल भएर सदरमुकामदेखि पूर्वपश्चिम राजमार्ग छोटो समयमा पुग्न सकिन्थ्यो । पुल भत्किएपछि सदरमुकामदेखि मगरागाडी हुँदै पुर्व पश्चिम राजमार्गमा आउजाउ गर्न निकै समस्या भएको छ ।













प्रतिक्रिया