२१ कार्तिक २०८३, शनिबार

राहत वितरणमा ढिलाई भयो, सीमाको तटबन्ध भत्काउनु पर्छ : चुरेभावर पार्टी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । चुरेभावर राष्ट्रिय एकता पार्टीले बाढी पीडितहरूका लागि सरकारले उद्धार र राहत वितरणमा ढिलासुस्ती गरेको भन्दै आक्रोश जनाएको छ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सोमबार विज्ञप्ति जारी गरेर पीडितहरूलाई राहत वितरण गर्न माग गर्नुभएको हो । उहाँले बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।

‘सरकारले बाढी पीडितहरूको उद्धार र राहत वितरणमा जसरी काम गर्नुपर्ने हो, गर्न ढिलाइ गरेको छ’, अध्यक्ष न्यौपानेले विज्ञप्तिमा भन्नुभएको छ, ‘सरकारले छिटोभन्दा छिटो बाढी पीडितहरूलाई खाने, बस्ने, शुद्ध पिउने पानी, औषधि र बालबच्चाहरूको उचित स्याहार सुसारका लागि पहल गर्न गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’

चुरेभावर पार्टीले भारतले सीमा क्षेत्रमा बनाएको उच्च सडक, बाँध तथा तटबन्धहरू कूटनीतिक पहलमार्फत हटाउन माग गरेको छ ।

‘भारतले सीमा क्षेत्रमा बनाएको उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा डुबान भएको चुरेभावर पार्टीको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपालीहरूलाई क्षति हुने गरेर बनाइएका त्यस्ता संरचनाहरू हटाउने विषयमा भारतसँग कूटनीतिक पहलमार्फत तत्काल समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

यसैबीच, चुरेभावरले जिल्ला समितिहरू, भातृ संगठन तथा सबै केन्द्रीय पदाधिकारी, सदस्य र शुभेच्छुक सबैलाई बाढी पीडितहरूको उद्धारका लागि खटिन निर्देशन दिएको छ ।