काठमाडौं, १३ कात्तिक । सत्तारुढ कांग्रेस र एमालेले संविधानका मुख्य विषयहरुमा समान धारणा बनाउने विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधानका मुख्य विवादित विषयहरु प्रदेशको सङ्ख्या, शासकीय स्वरुपलगायतका विषयमा सहमति कायम गर्न आन्तरिक छलफल गरिएको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले एमाओवादीसँगको बैठकपछि साझा धारणा निर्माणका सम्बन्धमा टुङ्गोमा पुगिने बताए ।
एमाले उपाध्यक्ष भीम रावलले कांग्रेस र एमालेबीच संविधानमा मुख्य विवादित विषयमा साझा अवधारणा बनाएर अघि बढ्ने विषयमा आन्तरिक छलफल भएको बताए ।
दुई दलबीच धेरै कुरा मिलेको र निर्धारित माघ ८ गतेभित्र संविधान निर्माणको तालिका परिवर्तन नगर्ने कुरामा दुवै दल दृढ रहेको पनि उनले जानकारी दिए ।
कांग्रेसका नेता शेरबहादुर देउवाले आजको तीन दलको बैठकमा संविधानका विवादित विषयमा सहमति कायम गर्न अधिकतम प्रयास गरिने बताए ।















प्रतिक्रिया