
पोखरा, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाको नतिजालाई प्रतिपक्षी नेता केपी ओलीले सकारात्मक रुपमा लिएको दाबी गरेका छन् ।
कार्यकर्ता भेटघाटका सिलसिलामा पोखरा पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भरतपुरको परिणामप्रति नेकपा एमालेका अध्यक्ष ओली सकारात्मक रहेको र आफ्ना नेता कार्यकर्तालाई आरोप प्रत्यारोपमा नउत्रिन आग्रह समेत गरिरहेको दाबी गरे ।
भरतपुरको निर्वाचनका सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रचण्डले भने– ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रुपमा लिनुभएको छ । साथै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुहुँदै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको छ । यसमा हामीलाई खुसी लागेको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै प्रचण्डपुत्री रेणु दाहाल निर्वाचित हुँदा एमाले नेता कार्यकर्ताले चर्को आलोचना गरिरहेका बेला प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।
मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन
यस्तै, अध्यक्ष प्रचण्डले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताए । आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गरे ।
नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबीचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गरे ।











प्रतिक्रिया