१० मंसिर २०८३, बिहिबार

भरतपुरको मेयरमा रेणु दाहालः बधाईभन्दा विरोध बढी, कसले के भने ?

21.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख (मेयर)मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल निर्वाचित भएसँगै विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।

बधाईको भन्दा आलोचना र विरोध बढी भइरहेको छ । साथै, चुनौतिहरुबारे पनि सामाजिक सञ्जालमा बहस हुन थालेको छ । खासगरी नेपाली कांग्रेसका कार्यकर्ता दुई दुई पटक निर्वाचन गराएर पार्टीकै साख गिर्नेगरी रेणुलाई जिताएकोमा निराश छन् र नेतृत्वप्रति आक्रोशित पनि । विपक्षीहरुले त ‘छोरीलाई बोकेर प्रचण्डले पैसा र पावरको दुरुपयोग गरेको’ भनेका छन् । ‘सुजाता बोक्दा गिरिजा फसे, रेणुका लागि प्रचण्ड जे गरिरहेका त्यो पतनको बाटो हो’ भन्नेहरुको पनि कमी छैन् । धेरैले सांकेतिक भाषामा सरकार र न्यायालयको पनि जीत भनेर व्यंग्य हानेका छन् ।

सामाजिक सञ्जालमा कसले के भने ?

नवराज खराल भन्छन्– ‘यति धेरै राज्य शक्ति र पैसाको दुरुपयोग गरे पछि पनि अधिराज कुमारी रेणु राज्य लक्ष्मी दाहालले किन नजित्नु ? बधाई छ रेणु जी ! चितवनको सभ्य पहिचान यो मतपत्र च्यात्ने फेरी चुनाव गर्ने नाटकले धमिलो बनाएको छ भने काँग्रेस सडेको पार्टी बनेको छः कठै हँसिया हथौडामा मत हान्ने काँग्रेसजनहरु ! सबैलाई थाहा छ रेणुले आफ्नो पार्टी संगठन र जनाधारले यो चुनाव जितेकी हैनन् भन्ने । यसमा काँग्रेसका रबर स्टाम्प मतदाताले मत दिएका हुन् र यसको लागि वहाँ ति मतदाताप्रति र देउबा प्रति आभारी हुनुपर्छ ।’

विक्रम लुइंटेल भन्छन्– ‘रेणुको जीत कांग्रेस र माओवादी दुवैको सहकार्यको जीत, गोपाल पराजुलीको पनि जीत ।’

द्ववारीका नेपाल– ‘जालझेल नभएको भए देवीजीले जित्नुहुन्थ्यो । यो प्रमाणित भयो । एउटा व्यक्तिलाई हराउन सिङ्गो राज्य लागेको थियो । यो हामीले देखेका हौं ।’

तीर्थ नेपाल लेख्छन्– ‘भरतपुरमा च्यात्ने र जलाउनेको जित ।’

अमृत तिमल्सिना लेख्छन्– ‘सत्ताका लागि षड्यन्त्र हुन्छ । ती षड्यन्त्रमा साम, दाम, दण्ड, भेद, सन्धी र भङ्ग नामका ६ यन्त्रहरु परिचालन हुन्छन भन्नेकुरा भरतपुर प्रकरणपछी नबुझ्ने कोही होला र ? परिणाम भन्दा राजनीति जित्ने देवीलाई सलाम । बधाई कसलाई दिने भन्ने कन्फ्युज भैराछ ।’

हरिसिंह शाही लेख्छन्– ‘रेणुले शिर ठाडो पारि गर्वले मेयरको कुर्सीमा बस्न सक्नुहुन्न होला सायद बरू हारेमा शिर ठाडो हुन्थ्यो होला ।’

मधुरा श्रेष्ठ भन्छन्– ‘नेपाली कांग्रेस कार्यकर्ताले अबको बाटो के ? भनेर सोच्नुपर्ने अवस्थाः सती गएको संगै सती जाने की नेतृत्वमा देखिएको बिसंगति सुधार गर्ने कि अर्कै बाटो रोज्ने !’

कृष्ण सिग्देल भन्छन्– ‘नेपालको न्यायलय, प्रहरी प्रशासन, निर्बाचन आयोग, केहि मुठ्ठी भरको दलालहरुको पैसामा बिक्छन भने खोइ नेपालमा लोकतन्त्र ?’

किरण नेपाल लेख्छन्– ‘पुकदालाई ऐले लाग्दो हो, बेकारै ‘जनयुद्ध’ गरिएछ– जबकि चुनावबाटै यति मजाले प्रजातन्त्रको उछितो काट्न सकिंदो रहेछ ।’

नारायण वाग्ले लेख्छन्– ‘चुनाव यसरी पनि जित्न सकिन्छ भन्ने माओवादीले देखायो तर जित्ने यसरी नै हो भन्ने अरूले नसिकून् ।’

राजाराम बर्ताैला भन्छन्– ‘मतपत्र च्यात्ने बहादुर, रेणु जिताउन हुरुक्क हुने कांग्रेसीजन, पुनःमतदान गर्नुभन्ने, पछिल्लोपल्ट रेणुलाई भोट हाल्ने, अनि रेणु र माओवादीलाई बधाई ।’

किशोर नेपाल लेख्छन्– ‘साझेदारी राजनीतिको पहिलो वैधानिक सन्तान बनिन रेणु दाहाल । मतपत्र दुर्घटनाग्रस्त भएकोले जीतको त्यति इज्जत रहेन जति रहनुपथ्र्याे ।’