काठमाडौँ, १३ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले बिहीबार संविधानसभाका साना दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।
समितिको कार्यालय सिंहदरबारमा भएको अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको समितिका सभापति डा. भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईले संविधानसभाको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका बारेमा परामर्श गर्नुभएको थियो ।
संवाद समितिको असोज ११ गते बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षसँग अनौपचारिक कुराकानी गर्ने र १४ गते औपचारिक बैठक राख्ने निर्णय गरेअनुसार नै सभापति भट्टराईले अनौपचारिक छलफललाई निरन्तरता दिनुभएको हो ।
छलफलपछि सभापति भट्टराईले भन्नुभयो, “उहाँहरुसँग संविधानका विवाद टुङ्ग्याउन बाँकी रहेका विषयको निरुपण कसरी गर्ने भन्ने विषय र अर्कोचाहिँ हामी आफैँले निर्धारण गरेको समयसीमा पटक–पटक पालना गर्न नसक्दा जुन खालको परिस्थिति सिर्जना भएको छ त्यसलाई कसरी सम्हाल्नु उपयुक्त होला भनेर परामर्श गरेँ । उहाँहरुले महत्वपूर्ण सुझाव दिनुभएको छ ।”
छलफलपछि बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू धर्म सापेक्ष राज्य र गणतन्त्रको विषयमा पनि जनतामा जान पाउनुपर्ने धारणा राखेको बताउनुभयो ।
छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने सङ्घीयताले नै संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारोमा पारेकाले उक्त विषयलाई थातीमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।
भट्टराईले बिहीबारै अन्य पक्षसँग पनि व्यक्तिगत र सामूहिक रुपमा छलफल गर्नुहुने जनाइएको छ ।
















प्रतिक्रिया