काठमाडौँ, १२ कात्तिक । छठ पर्वको मुख्य तथा तेस्रो दिन छठका वर्तालुले आज साँझ जलाशयको किनारमा गएर सँझिया घाटको उत्साह र उमंगका साथ तयारी गरिरहेका छन् ।
परम्परा अनुसार छठ पर्वको तेस्रो दिन छठका वर्तालुले अस्ताउँदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाउँने चलन छ ।
सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै मनाउने यो पर्वको तेस्रो अथवा प्रमुख दिन सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गर्ने चलन छ ।
चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
विभिन्न ताल, तलाउ, पोखरी, नदी र जलाशयलाई एक साता अघिदेखि सरसफाई गरी छठ पूजा गर्ने घाटलाई वेहुली झैँ सिङ्गारेर मनाउने यो पर्व पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी मनाउने परम्परा छ ।
छठ पर्व मनाउन मिथिलाञ्चलसहितका विभिन्न तराईका जिल्ला र राजधानीलगायतका ऐतिहासिक स्थललाई बेहुली झै सिँगारिएको छ ।
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा समेत धुमधामका साथ मनाइंदै छ ।
यही क्रममा काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइंदैछ । छठ पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
















प्रतिक्रिया