३१ आश्विन २०८३, शनिबार

श्रीमान् विदेसिएपछि घर निकाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila-himsaईश्वर भट्टराई

मोरङ, ११ कात्तिक । महिला हिसांका शृंखला बढिरहेका बेला मोरङ वयरवन–६ की एक महिलाले आफू पारिवारिक रुपमा पीडित भएर घर छोड्न वाध्य भएको बताउनुभएको छ ।

‘पति विदेश गएपछि आफूलाई विभिन्न लाञ्छना लगाइयो, समाजले पनि न्याय दिएन । त्यसैले अहिले घर छोडेर माइतीको शरण लिएर बस्दैछु’,  पीडित ललिता चौधरीले भन्नुभयो । उहाँका श्रीमान् त्रिभु चौधरी वैदेशिक रोजगारको शिलशिलामा कतारमा छन् । दुई सन्तानकी आमा ललितालाई सौतेनी सासु र नन्दले दुर्व्यवहार गर्ने गरेको र ज्यान मार्ने धम्कीसमेत दिएपछि आफू घर छोड्न बाध्य भएको बताउनुभएको छ ।

श्रम गरेर पठाएको रकममा ‘चलखेल गर्ने’ उद्देश्यले त्रिभुकी बहिनी र सौतेनी आमाले ललितालाई चरित्रहिन करार गरी घर निकाला गरेको बुझिएको छ । परपुरूषसँग अवैध सम्बन्ध राखेको र भ्रुण हत्या गरेको जस्ता लाञ्छना लगाई ललितालाई घर निकाला गरिएको महिला स्वयंसेवी रमा दाहालले बताउनुभयो ।

हाल सुनसरी एकम्बास्थित माइतीको शरणमा बसिरहेकी ललितालाई उनले जन्म दिएका दुई सन्तानलाई समेत भेट गर्न नदिएपछि उनी न्यायको लागि सबैसँग हारगुहार गरिरहेकी छिन् । ‘ललितालाई साँच्चै अन्याय परेको छ’, महिला स्वयंसेवी दाहालले भन्नुभयो, ‘कम्तीमा आफैले जन्माएका छोराछोरीसँग भेट हुन दिनुपर्छ ।’

उनलाई गत असोज ८ गते आम्दा हस्पिटल दमकमा अल्ट्रासाउन गरी १९ हप्ताको गर्भ रहेको आरोप लगाउँदै पराई घर गइसकेकी नन्द रामकुमारीले घर निकाला गरेकी हुन् । पीडित ललिताले भन्नुभयो, ‘परपुरूषसँगको सम्बन्ध म सोच्न पनि सक्दिन, कसैले मेरो स्वास्थ्य जाँच पनि गरेका छैनन् । झुटो रिपोर्ट तयार पारेर मेरो चरित्र हत्या मात्र गरेका हुन् ।’

उहाँले भन्नुभयो, ‘नन्द र सासुले यो घरमा तेरो केही छैन, हामीले दुःख गरेर बनाएको घरमा तेरो कुनै अधिकार छैन, आङमा लगाएको लुगा बाहेक तैँले केही पाउँदिनस् भन्दै कुट्ने मार्ने धम्की दिन थालेपछि मैले घर छोड्न बाध्य बने ।’ ३४  वर्षीया ललिताले आफूलाई घरमा स–सम्मान पुर्नस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह पनि गरेकी छन् । आफूले लेखपढ गर्न नजानेको र कतै पनि उजुरी गर्न नगएको, बरू घरैै छोडि हिँडेको बताउने ललिताले न्याय पाउनु पर्ने महिला स्वयंसेवी दाहालले बताउनुभयो । वास्तविक घटना बुझेर पीडितलाई न्याय दिलाउन आफूहरू लागि पर्ने दाहालको भनाइ छ ।

यस्तै, गत बैशाखदेखि कतारमा कार्यरत त्रिभु चौधरीले श्रीमती ललिताको चरित्रमा कुनै शंका नगरेपनि घरपरिवारका सदस्यहरूले जबरजस्त आरोप लगाएको पीडित पक्षको भनाइ छ ।

यस विषयमा इलाका प्रहरी कार्यालयका पथरीका प्रहरी निरीक्षक रूद्र चुडालले ललिताको ‘कथित गर्भपतन’मा आफूलाई समेत विवादमा मुछेको भन्दै आपत्ति प्रकट गर्नुभयो । ‘हामीले यो विषयमा छलफलसम्म गराउने हो, तर कसैले जाहेरी दिएको छैन’, इन्सपेक्टर चुडालले भन्नुभयो, ‘केही सञ्चारकर्मीले रकमको प्रलोभनमा परी मेरो चरित्र हत्या गर्ने महिला हिंसालाई प्रश्रय दिन खोजेका मात्र हुन् ।’ उहाँका अनुसार गर्भपतन गरेको रिपोर्ट सरकारी चिकित्सकले दिने हो, कुनै नाफामुखी स्वास्थ्य केन्द्रले होइन । बनावटी रिपोर्ट ल्याएकै भरमा प्रहरी घटनाको गहिराइमा पुग्न बाध्यकारी हुदैन । कपोकल्पित घटना बनाइ पत्रकार सम्मेलन समेत गरेर ललिताका सासु र नन्दले प्रहरीलाई समेत बदनाम बनाएको भन्दै ललितालाई न्याय दिलाउन लागि परेकाहरूले पनि आपत्ति प्रकट गरेका छन् ।