काठमाडौं, ११ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले अबको दुई दिन अनौपचारिक छलफलद्वारा संविधान निर्माणमा सहमतिको प्रयत्न गर्ने बताउनुभएको छ ।
मंगलबारको संवाद समितिको बैठकपछि सभापति भट्टराईले भन्नुभयो – ‘दुई दिन अनौपचारिक ढंगले सहमति निर्माण गर्ने प्रयत्न हामी गर्छौं । १४ र १५ गते हामी औपचारिक बैठक बसेर १५ गतेसम्म सहमतिमा पुग्ने पूरै कोशिस गर्छौं । त्यसको सम्भावना पनि छ र अन्तिमसम्म पनि सहमतिको प्रयत्न गर्नुपर्छ भन्ने भावना सबैबाट व्यक्त भएको छ ।’
बैठकमा सभापति भट्टराईले अन्तिम सहमतिको प्रयत्न गर्नको निम्ति विधि र प्रक्रियामा के–के सुधार गर्नुपर्छ भनेर सबै सदस्यहरुबाट सुझाव माग्नुभएको थियो । बैठकमा समितिबाहिरका संविधानसभा सदस्यहरु प्रदीप गिरी, श्याम श्रेष्ठ, गगन थापा लगायतलाई पनि सभापति भट्टराईले मंगलबारको वैठकमा वोलाउनु भएको थियो । सबैको सुझावबमोजिम नै दुई दिन अनौपचारिक छलफलमा जोड दिने निर्णय भएको सभापति भट्टराईले जानकारी दिनुभयो ।
सभापति भट्टराईका अनुसार प्रमुख दलका शीर्ष नेताहरु बाहेक अरु दलका नेताहरुले पनि आ–आफ्नो ठाउँबाट सहमति निर्माणका लागि प्रयत्न गर्ने र आफ्नो पार्टी तथा संवाद समितिलाई सुझावहरु दिन सकिने छ । संवाद समितिले पनि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग सुझाव ग्रहण गर्नेछ । दुई दिनको अनौपचारिक छलफलका आधारमा प्रमुख दलहरुको औपचारिक बैठक बसेर सहमति निर्माणको प्रयत्न गर्ने पनि सभापति भट्टराईले बताउनुभयो ।
अनौपचारिक छलफल जारी
भट्टराईले अनौपचारिक छलफल पनि थाल्नुभएको छ । मंगलबार संवाद समितिको बैठकलगत्तै सभापति भट्टराईले नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, प्रदीप गिरी, पूर्ण बहादुर खड्कासँग अलग अलग छलफल गर्नुभयो ।
त्यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डे, एकीकृत नेकपा माओवादीका शक्तिबहादुर बस्नेत, मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, खम्वुवान मोर्चाका रामकुमार राईसँग पनि सभापति भट्टराईले छुट्टाछुट्टै भेट गर्नुभयो ।
नेपाली कांग्रेसका शेरबहादुर देउवासँग पनि सभापति भट्टराईले टेलिफोनबाटै कुराकानी गर्नुभएको छ ।
















प्रतिक्रिया