१ कार्तिक २०८३, आइतबार

चित्त बुझेन भने बुढीगण्डकीको सम्झौता रद्द हुन्छ : उर्जामन्त्री शाही

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी परियोजना निर्माण कम्पनीले समयमै काम गर्न नसके उक्त सम्झौता रद्द गर्ने बताएका हुन् ।

उनले भने, ‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी उक्त सम्झौता तत्काल खारेज गर्छौं ।’ त्यस्तै उनले उक्त परियोजनाबारे मुआब्जा दिने काम पनि भैरहेको जानकारी दिए ।

उनले यसअघि १६ अर्ब मुआब्जा रकम निकासा भैसकेको र अहिले १० अर्ब निकासाको तयारीमा रहेको जनाए । उनले भने, ‘मुआब्जाकोलागि करिब ६० अर्ब रुपैयाँ रकम चाहिनेछ, मुआब्जाको समस्या हामी समयमै हल गर्छौं ।’

मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।

त्यस्तै उनले विद्युत क्षेत्रको विकासको लागि उर्जा उत्पादनमा वृद्धि गरिनेपनि जनाए । त्यस्तै मन्त्री शाहीले अब लोडसेडिङ् नहुने समेत जिकिर गरे ।

उनले ट्रान्समिसन लाईन मर्मत गर्दा र काम गर्दा केही क्षण डिस्टर्व भएपनि समग्रमा लोडसेडिङ् नहुने दाबी गरे ।

शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन । उनले विद्युत व्यवस्थापन गर्नको लागि कम पावरको बल्ब र फ्यानहरुको प्रयोग गर्नुपर्ने बताए ।

शाहीले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने योजना दिए । सरकारी र राष्ट्रिय पुँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उनले स्प्ष्ट पारे ।