
– नरेश केसी
भैरहवा, ११ साउन । नेपाल आयल निगमकोलागी खरिद गरिएको रोहिणी खोलाको जग्गाको पुर्जा दलालले कब्जामा लिएका छन् ।
खोलाको जग्गा निगमको नाममा पास भएको भनि चौतर्फी दबाब सृजना भएपछि जिल्ला मालपोत कार्यलयले निगमको पत्र नभइ पुर्जा नदिने अडान लिएको थियो । तर दबाब प्रभाबको भरमा जग्गा दलाल नारायण सापकोटा (उपाध्याय) ले सो पुर्जा लिएको बुझिएको छ ।
सिद्धार्थनगर पालिका वडा नम्बर ३ मा राप्रपाको तर्फबाट दोस्रो चरणको स्थानिय तह अन्र्तगत वार्ड सदस्यमा निर्वाचित उपाध्यय जग्गा व्यापारी हुन् । उपाध्ययले नै मंगलबार जिल्ला मालपोतमा गई लालपुर्जा बुझेका हुन् । तर नेपाल आयल निगमले भने लालपुर्जा नबुझेको बताएको छ । निगमको भलबारी डिपोका प्रमुख अशोक शाहले भने हामीले पुर्जा पाएका छैनौं । हामीले कर्मचारी पठाएर पुर्जा माग्दा विभागको पत्र चाहिने भन्दै मालपोतले हाम्रो मान्छे फीर्ता गरेको हो ।
निगमले पुर्जा माग्दा नदिने मालपोतले भने जग्गा दलाललाई सरकारी संस्थानको पुर्जा दिएको छ । मालपोतको श्रेस्तामा आयल निगमको छाप लगाइएको छ । यसरी सरकारी संस्थानको छाप लगाएर सरकारी संस्थानको पुर्जा बुझ्ने उपाध्यय को हुन् भनेर सबैले चासो व्यक्त गरेका छन् । उनी निगमका कर्मचारी पनि होइनन् । नत निगमको कुनै अख्तियार प्राप्त व्यक्ति । तर उनले प्रभावमा पारेर निगमको पुर्जा त बुझे तर त्यो कहां लगे भन्ने अहिले सम्म पत्तो छैन । त्यसबारेमा उपाध्ययलाई बुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।
अर्कोतर्फ रोहिणीको जग्गा खरिद गर्दा दलालहरुले किसानलाई चेपुवामा पारेर सस्तोमा खरिद गरेको रहस्य बाहिर आएको छ । किसानसंग प्रतिकठ्ठा बढीमा साढे ३ लाखमा खरिद गरेर निगमलाई १० लाख ७५ हजारमा बेचिएको उक्त जग्गा डर त्रास देखाएर खरिद गरिएको बुझिएको छ । यतिमात्र होइन दलालहरुले पहिलै कागज गराएर कम मुल्यमा जग्गा खरिद विक्री सहमति समेत गराएका थिए ।
मन्त्रीदेखी मालपोतका कर्मचारी सम्मको मिलोमतोमा खरिद गरिएको उक्त जग्गा दलालहरुले धम्काई थकाई खरिद गरेको बुझिएको छ । एक जना किसानले नाम उल्लेख नगर्ने शर्तमा भने ‘मैले बेच्दैन भन्दै थिए । नबेचे सरकारले कब्जा गरिदिन्छ । तिमिले अहिले जत्ति पैसा पाउछौं लिइहाल होईन भने हामी सित्तैमा लिनेछौं, भनेर धम्काए । धेरैपटक घरमै आए । त्यसपछि श्रीमति, छोराछोरीले पनि लफडा गर्नुभन्दा दिम् भनेपछि दिए ।’
निगमले ५ नम्बर प्रदेशमा तेल भण्डारण केन्द्र निर्माण गर्ने ध्ययेले रुपन्देहीको साविक बसन्तपुर, धकधइ र पट्खौली गाविसमा पर्ने रोहिणी खोला बगर खरिद गरेको हो । गएको असार २८ गते आयल निगमले खोलाको जग्गा खरिद गरेको थियो । खोलाको जग्गामा करोडौं रकम खन्याएपछि चौतर्फी रुपमा त्यसको विरोध भइरहेको छ ।
यता अर्थसमितीले पनि रोहिणी खोला खरिद गरिएको सम्बन्धमा छानवीन समिती नै गठन गरेको छ । समितीका सभापति प्रकाश ज्वालाका अनुसार सांसद अब्दुल रज्जाक गद्धी, सरस्वती बजिमय, नरदेवी पुन मगर, इच्छाराम तामांग, सिर्जना तरामु खत्री र रमेश प्रसाद कुर्मि सदस्य रहेको उपसमिती गठन भएको छ । सो उपसमितीले १५ दिनको कार्यदेश पाएको र उसले आवश्यक छानविन गरी प्रतिवेदन पेश गरेपछि कारबाहि अगाडी बढाइने ज्वालाले बताए ।
जग्गा दलालहरु काठमाण्डौंका सुरेश घिमिरे, कोमुद ढुंगाना, विश्वास अधिकारी, हरि प्रसाद पोखरेल, नवलपरासीका हर्षभर सहितको समुह र भैरहवाका नारायण उपाध्ययको समुह सो जग्गा खरिद गराउनमा सक्रिय थिए । यता असार २८ गते आयल निगमको नाममा पास भएको जग्गाको क्षेत्रगत अध्ययन नै नगरिएको मालपोत कार्यलय भैरहवाका प्रमुख शिव रेग्मीले बताए । उनले भने ‘यदि त्यो जग्गाको फील्ड स्टडी गरेको भए त्यो जग्गा किनबेच नै हुदैन्थ्यो । किनकी त्यहां खोलाले चर्चेको छ , त्यस्तो ठाउको किनबेच गर्ने मिल्दैन ।’















प्रतिक्रिया