१ कार्तिक २०८३, आइतबार

फलोअपः रोहिणी खोलामा आयल निगमको ३२ करोड, मन्त्रीदेखि एजेण्टसम्मको सेटिङ्ग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १० साउन । नेपाल आयल निगमले ५ नम्बर प्रदेशमा तेल भण्डारण केन्द्र निर्माण गर्ने ध्ययेले रुपन्देहीको साविक बसन्तपुर, धकधइ र पट्खौली गाविसमा पर्ने रोहिणी खोला छेउमा जग्गा किन्यो ।

गएको असार २८ गते आयल निगमले साविक बसन्तपुर गाविस वडा नम्बर ४ को कित्ता नम्बर १०८४, १०९२, १०८८, १०८२, ४३५, १०२७, १०३१, ४३८, ४३९, ४७८, ४४५, ४५२, ४५४, ४५६, ४५८, १०७९, १०८१,१०८३, १०८९, १०९३, १०८५, ४३०,८०५, ४१५, ४३२, ४४८, ४४६, ४३१, १०२८, १०३०, ८०६, ८०८, ८०७, ५३१, ५३४, ५३७ आफ्नो नाममा पास गरेको छ । यसैगरी पट्खौली गाविस वडा नम्बर ९ को कित्ता नम्बर ४८३, ४८६, ९११, ८४३, ८५४, १०१५, १०१७, ४६९, ४७८ र धकधई गाविस ३ ग को ४०८, १७२, ६६० पनि आयल निगमको नाममा पास भएको छ । आयल निगमले यी जग्गा खरिदमा ३२ करोड ४२ लाख २५ हजार मूल्य नगद भुक्तान गरेको छ । तर जग्गा धनीले जम्मा करिब ८ करोड मात्रै पाएका छन् । बाकी साढे २२ करोड जग्गाको सेटिंग टिमले कमिशन बापत राखेको बुझिएको छ । उक्त सेटिंगमा विभागीय मन्त्रीदेखी, आयल निगमका अधिकारी देखी स्थानिय एजेन्ट सम्म छन् ।

१० लाख ७५ हजार रुपैयां प्रतिकठ्ठामा जग्गा खरिद गरेको भएता पनि जग्गाधनीलाई प्रतिकठ्ठा १ लाख देखी बढीमा ३ लाख ५० हजार सम्म भुक्तानी दिइ पास गरिएको छ । भर्खरै खरिद गरिएको जग्गामा अहिले पनि खोलो हिडीरहेको छ । गत वर्ष सो ठाउभन्दा २ किलोमिटर पछाडी सम्म बाढी आएर पुरै बस्ती डुबाएको थियो भने ठूलो धनसम्पतीको क्षति भएको थियो । कयौं घरबार विहीन भएका थिए । अहिले खोलो हिडीरहेको ठाउमा आंखा चिम्म गरेर जग्गा किनेको प्रति यस क्षेत्रका सर्वसाधरण र जनप्रतिनीधीले आक्रोस व्यक्त गरेका छन् ।

रोहीणि गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले आयल निगमले अरबौं रकम खर्चेर खोलो किन्ने काम गरेको आरोप लगाए । उनले भने “यो गलत भएको छ । हाई वे संग जोडिएको ठाउमा राम्रो अब्बल जग्गा प्रतिकठ्ठा बढीमा ६ लाखमा पाइन्छ । तर खोलो हिडीरहको जग्गा १० लाख ७५ हजारले किनबेच हुनु विडम्बना हो । हामी चुनाबमा भएको बेला थाहै नदिई यो सब काम भएको छ । यसलाई तत्काल रोक्छौं । हामी यहां कुनैपनि हालतमा यो जग्गा किन्न दिदैंनौं । त्यसकोलागी यस क्षेत्रका जनताले जे बलिदानी गर्न पनि तयार छन् । आयल निगमलाई चाहिएको जग्गा हामी राम्रो ठाउमा दिलाउन जत्तिबेला पनि तयार छौं ।”

अर्थसमितीका सभापति प्रकाश ज्वालाका अनुसार सांसद अब्दुल रज्जाक गद्धी, सरस्वती बजिमय, नरदेवी पुन मगर , इच्छाराम तामांग, सिर्जना तरामु खत्री र रमेश प्रसाद कुर्मि सदस्य रहेको उपसमिती गठन भएको छ । सो उपसमितीले १५ दिनको कार्यदेश पाएको र उसले आवश्यक छानविन गरी प्रतिवेदन पेश गरेपछि कारबाहि अगाडी बढाइने ज्वालाले बताए ।

यता भलबारी स्थित आयल निगमका डिपोले आफुहरुलाई जग्गा किनबेचका सन्दर्भमा कुनै जानकारी नभएको बताइरहदा हाल जग्गाको पुर्जा लिनकोलागी डिपोका कर्मचारी मालपोत भैरहवा धाइरहेका छन् । तर मिडीयाले धेरै फलोअप गरेपछि विवादमा आएको जग्गा विवादको पुर्जा निगमको विभागीय पत्र लिएर आएमा मात्रै दिने भनेर मालपोतले रोकेको छ ।

नापी कार्यलय भैरहवाले रोहिणी खोलामा आयल निगमको नाममा पास भएको जग्गाको हाल साविक नभएको जनाएको छ । स्रोतका अनुसार सो जग्गा हाल साविक भएमा खोलो भनी प्रमाणीत नै हुने देखिन्छ ।