
काठमाडौं, ८ साउन । राष्ट्रिय जनता पार्टी नेपालले पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठकको तयारी सुरु गरेको छ ।
काठमाडौंका बबुरमहलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको राजधानीमा उपलब्ध अध्यक्षमण्डलका अध्यक्ष र पदाधिकारीहरूको संयुक्त बैठकले बैठकको तयारी थालेको महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘केन्द्रीय समितिको बैठक साउन २१ गतेदेखि बस्दैछ’, उहाँले भन्नुभयो, ‘त्यसैको तयारी स्वरुप बैठक बसेको हो ।’
सुमनले भन्नुभयो, ‘धेरै केन्द्रीय सदस्य हुनुहुन्छ । बैठकलाई कसरी व्यवस्थित गर्ने भनेर जिम्मेवारी बाँडफाँट पनि गर्नुपर्छ ।’
राजपा नेपालका अर्का महासचिव एवम् प्रवक्ता केशव झाले पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल भएको जानकारी दिनुभयो । ‘राजनीतिक दस्तावेज र एजेन्डाहरू कसरी तयार पार्ने भन्नेबारेमा पनि छलफल भएको छ’, उहाँले भन्नुभयो ।
राजपा नेपालका असन्तुष्ट पक्षले केन्द्रीय कार्यसमिति बोलाउन चेतावनी दिएपछि अध्यक्षमण्डले साउन १८ गते पदाधिकारी र २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।











प्रतिक्रिया